Banijya News

ग्यासको लाइनमा उभ्याएर सास्ती, उद्योगी भन्छन्‌– बिहीबारदेखि ग्यास डिलरबाटै किन्नुहोला

1
1.1K Shares

दसैंलाई लक्षित गर्दै उपभोक्ताको सहजताका लागि काठमाडौं उपत्यकामा सुरु गरिएको सबै ब्रान्डका एलपी ग्यासको संयुक्त बिक्री वितरण बुधबारदेखि बन्द हुने भएको छ । नेपाल एलपी ग्यास उद्योग संघले बुधबारसम्म मात्रै ग्यास साटफेर तथा बिक्री गर्ने र बिहीबारदेखि पुरानै व्यवस्थाअनुसार डिलरमार्फत ग्यास वितरण गर्ने जनाएको छ ।

उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने बिक्री केन्द्रबाट ग्यास लिन सक्ने व्यवस्था आइतबारदेखि सुरु गरिएको थियो । सुरुमा उपत्यकाका ६ बिक्री केन्द्रबाट ग्यास बिक्री गरेका उद्योगीले सोमबार थप पाँच केन्द्र सञ्चालनमा ल्याउँदै संख्या ११ पुर्‍याएका थिए । सुरुमा असोज ३१ गतेसम्म संयुक्त बिक्री गर्ने भनिए पनि त्यसपछि असोज ३० गतेसम्म मात्रै बिक्री गरिने सूचना जारी गरिएको थियो । मंगलबार पुनः सूचना जारी गर्दै बुधबारसम्म मात्रै संयुक्त बिक्री तथा साटफेर हुने जनाइएको हो ।

संघका अध्यक्ष दिवान चन्दका अनुसार बिहीबार र शुक्रबार डिलरमार्फत नियमित रूपमा ग्यास आपूर्ति गर्नुपर्ने भएकाले संयुक्त बिक्रीको व्यवस्था बुधबारसम्म मात्रै लागू हुनेछ ।
संघले बजारमा ग्यासको आपूर्ति सहज रहेको र अभाव नरहेको दाबी गरेको छ । नेपाल आयल निगममार्फत भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात नियमित तथा सहज भइरहेको संघको भनाइ छ ।

संघले उपभोक्तालाई आफ्नो नजिकको डिलरमा गएर ग्यास खरिद गर्न आग्रह गरेको छ । नियमित वितरण प्रणालीमा फर्किएपछि उपभोक्ताले नजिकैबाट ग्यास पाउने र बिक्री प्रक्रिया सहज हुने संघको अपेक्षा छ ।

यसअघि संयुक्त बिक्रीका लागि तोकिएका ११ वटै केन्द्रमा उपभोक्ताको लामो लाइन लाग्ने गरेको थियो । नजिकका डिलरबाट ग्यास खरिद गर्न नपाउँदा विभिन्न बिक्री केन्द्रसम्म पुग्नुपर्ने र घण्टौँ लाइनमा बस्नुपर्ने समस्या उपभोक्ताले भोग्दै आएका छन् । दसैंको समयमा सहजताका लागि सुरु गरिएको संयुक्त बिक्री व्यवस्थाले उल्टै उपभोक्तालाई सास्ती दिएको गुनासोसमेत बढेको छ ।

1

Scroll to Top