एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले दुई जलविद्युत् आयोजना र एक केबल्स उद्योगमा कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको छ । कम्पनीको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले तीनवटा कम्पनी तथा आयोजनामा लगानी गर्ने निर्णय गरेको हो ।
कम्पनीले सोलुखुम्बुमा निर्माण हुने ७० मेगावाट क्षमताको दुधकोशी–२ जलविद्युत् आयोजनामा सबैभन्दा बढी १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । दुधकोशी हाइड्रोपावर नेपाल लिमिटेडद्वारा प्रवद्र्धित उक्त आयोजनामा एनआरएन इन्फ्रास्ट्रक्चरले १ करोड कित्ता सेयर खरिद गर्ने निर्णय गरेको छ ।
त्यस्तै, सानिगाड ऊर्जा लिमिटेडद्वारा प्रवद्र्धित ६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत् आयोजनामा कम्पनीले २० करोड रुपैयाँ लगानी गर्ने भएको छ । उक्त रकमबाट २० लाख कित्ता सेयर खरिद गरिने कम्पनीले जनाएको छ ।
यसैगरी, कम्पनीले मोरङस्थित अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिज लिमिटेडमा पनि लगानी गर्ने निर्णय गरेको छ । उक्त उद्योगमा २ लाख ८५ हजार कित्ता सेयर खरिद गर्न ९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गरिनेछ ।
तीनवटै कम्पनी तथा आयोजनामा प्रस्तावित लगानीमध्ये जलविद्युत् क्षेत्रमा मात्रै १ अर्ब २० करोड रुपैयाँ विनियोजन हुने देखिएको छ । बाँकी ९ करोड ९७ लाख ५० हजार रुपैयाँ केबल्स उद्योगमा लगानी हुनेछ । यससँगै एनआरएन इन्फ्रास्ट्रक्चरले जलविद्युत् तथा औद्योगिक क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने भएको छ ।
कम्पनीले धितोपत्र सूचीकरण नियमावली, २०७५ को नियम २२ बमोजिम लगानीसम्बन्धी सैद्धान्तिक निर्णयको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्डलाई गराएको छ ।


