Banijya News

जीवन बीमा व्यवसायमा सावधिक बीमाको दबदबा, दुई महिनामै १९ अर्ब संकलन

1
1.0K Shares

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा जीवन बीमा कम्पनीहरूले संकलन गरेको कुल बीमाशुल्कमध्ये सबैभन्दा ठूलो हिस्सा सावधिक जीवन बीमाबाट प्राप्त भएको छ । सञ्चालनमा रहेका १४ जीवन बीमा र तीन लघु जीवन बीमा कम्पनीले साउन र भदौमा आर्जन गरेको कुल बीमाशुल्कमा सावधिक जीवन बीमाको योगदान सबैभन्दा बढी देखिएको हो ।

उक्त अवधिमा जीवन बीमा कम्पनीहरूले कुल ४१ अर्ब २९ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । त्यसमध्ये सावधिक जीवन बीमाबाट मात्रै १९ अर्ब १५ करोड १९ लाख रुपैयाँ प्राप्त भएको छ । यो कुल बीमाशुल्कको करिब ४६.४ प्रतिशत हो ।

सावधिक जीवन बीमा निश्चित अवधिका लागि गरिने बीमा हो । यसमा बीमितले तोकिएको अवधिसम्म नियमित रूपमा बीमाशुल्क भुक्तानी गर्छन् । बीमालेखको सर्तअनुसार अवधि पूरा भएपछि बीमितले बीमांक रकम तथा लागू हुने बोनस प्राप्त गर्छन् । बचत र जीवन सुरक्षालाई एकसाथ समेट्ने भएकाले यस्तो बीमाप्रति ग्राहकको आकर्षण बढी देखिएको हो ।

बीमा कम्पनीहरूले अग्रिम भुक्तानी सावधिक जीवन बीमाबाट ७ अर्ब ५२ करोड ११ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, बालबच्चासम्बन्धी सावधिक जीवन बीमाबाट ५ अर्ब ८३ करोड १९ लाख रुपैयाँ र रूपान्तरित सावधिक जीवन बीमाबाट ४ अर्ब ४८ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क प्राप्त भएको छ ।

एकल बीमाशुल्क जीवन बीमाबाट १ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ संकलन भएको छ । यस प्रकारको बीमामा बीमितले बीमालेखको सर्तअनुसार एकैपटक बीमाशुल्क भुक्तानी गर्छन् । आजीवन जीवन बीमाबाट ८३ करोड ५८ लाख रुपैयाँ र वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट ५५ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ ।

यसैगरी, अन्य जीवन बीमाबाट ६३ करोड ८ लाख रुपैयाँ, म्यादी जीवन बीमाबाट २६ करोड २९ लाख रुपैयाँ र लघु जीवन बीमाबाट ५८ करोड ९० लाख रुपैयाँ बीमाशुल्क संकलन भएको तथ्यांकमा उल्लेख छ ।

बागमतीमा सबैभन्दा धेरै बीमाशुल्क

प्रदेशगत तथ्यांकअनुसार जीवन बीमा व्यवसायमा बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ । बागमतीमा विभिन्न प्रकारका जीवन बीमालेखमार्फत १९ अर्ब ५७ करोड २९ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । यो कुल बीमाशुल्कको झन्डै आधा हिस्सा हो ।

त्यस्तै, लुम्बिनी प्रदेशमा ५ अर्ब ९३ करोड रुपैयाँ, कोशी प्रदेशमा ४ अर्ब ८८ करोड रुपैयाँ र गण्डकी प्रदेशमा ४ अर्ब १ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ । मधेश प्रदेशबाट ३ अर्ब ५० करोड रुपैयाँ बीमाशुल्क प्राप्त भएको छ ।

यसैगरी, सुदूरपश्चिम प्रदेशमा २ अर्ब २२ करोड रुपैयाँ र कर्णाली प्रदेशमा १ अर्ब १६ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको तथ्यांकले देखाउँछ ।

प्रदेशगत विवरणले जीवन बीमा व्यवसाय बागमतीमा बढी केन्द्रित रहेको देखाएको छ । यद्यपि, अन्य प्रदेशमा पनि बीमा व्यवसाय विस्तार हुँदै जाँदा बीमाको पहुँच र वित्तीय सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्नु महत्त्वपूर्ण देखिन्छ ।

1

Scroll to Top