Banijya News

हिम पर्वत हाइड्रोपावरको आईपीओ निष्कासन कात्तिक ११ देखि हुने

1
1.0K Shares

हिम पर्वत हाइड्रोपावर लिमिटेडको आईपीओ कात्तिक ११ गतेदेखि निष्कासन हुने भएको छ । पहिलो चरणमा उक्त आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी हुने भएको कम्पनीले जनाएको छ ।

कम्पनीले जारी पुँजीको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँबराबरका ५९ लाख १५ हजार कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको छ । आयोजना प्रभावित स्थानीयका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता शेयर छुट्याइएको छ ।

स्थानीयतर्फ अतिप्रभावित क्षेत्र दोलखाको बिगु गाउँपालिकाका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिकाका वडा नं. २, ३ र ४ का बासिन्दाले १० लाख १४ हजार कित्ता शेयर पाउनेछन् । बाँकी ६ लाख ७६ हजार कित्ता दुवै गाउँपालिकाका अन्य वडाका स्थानीयका लागि छुट्याइएको छ ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । स्थानीयले छिटोमा कात्तिक २५ र ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदनको अन्तिम मिति छिटोमा कात्तिक १६ र ढिलोमा कात्तिक २५ गते तोकिएको छ ।

स्थानीयले तोकिएका बैंकका शाखा तथा संकलन केन्द्रबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।

1

Scroll to Top