Banijya News

ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य गर्न आयल निगमको पुनः ताकेता

1
1.0K Shares

नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्ने विक्रेतालाई ग्राहकलाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गरेर मात्रै ग्यास बिक्री–वितरण गर्न निर्देशन दिएको छ । ग्यास बिक्री गरेपछि बिलबिजक जारी नगर्ने गरेको गुनासो बढेपछि निगमले यस्तो निर्देशन दिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले सोमबार साँझ निगमको निर्देशनसम्बन्धी पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । निगमले सबै ग्यास उद्योगलाई पत्राचार गर्दै उनीहरूमार्फत ग्यास विक्रेताले ग्राहकलाई अनिवार्य रूपमा भ्याट बिल उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार जारी गरेको पत्रमा केही ग्यास विक्रेताले ग्यास बिक्री गरेपछि ग्राहकलाई बिलबिजक जारी नगरेको गुनासो प्राप्त भएको उल्लेख छ । सोही गुनासोलाई सम्बोधन गर्दै निगमले ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था कार्यान्वयन गर्न पुनः ताकेता गरेको हो ।

निगमले ग्यास बिक्री गर्ने विक्रेताले ग्राहकलाई भ्याट बिल उपलब्ध गराएर मात्रै बिक्री–वितरण गर्नुपर्ने स्पष्ट पारेको छ । यसका लागि ग्यास उद्योगहरूले आफ्ना विक्रेतालाई आवश्यक निर्देशन दिई व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गराउनुपर्नेछ ।

निगमले यसअघि पनि २०८१ साउन ३० गते र २०८१ माघ १० गते निर्णय कार्यान्वयनका सम्बन्धमा सम्बन्धित संस्थालाई पत्राचार गरेको स्मरण गराएको छ । तर, पटक–पटक निर्देशन दिँदा पनि ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको गुनासो दोहोरिएपछि निगमले पुनः पत्राचार गरेको हो ।

ग्राहकलाई खरिदको आधिकारिक प्रमाण उपलब्ध गराउने र बिक्री प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्यले निगमले यो व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न खोजेको देखिन्छ । अब ग्यास विक्रेता तथा उद्योगहरूले निगमको निर्देशनअनुसार ग्राहकलाई अनिवार्य रूपमा भ्याट बिल उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्नेछ ।

1

Scroll to Top