Banijya News

सन् २०३० सम्म नेपाललाई गाभीको ८ अर्ब ५९ करोडको खोप सहयोग

1
1.0K Shares

गाभी, द भ्याक्सिन एलाइन्सले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको खोप सहयोग उपलब्ध गराउने भएको छ । राष्ट्रिय नियमित खोप कार्यक्रमलाई निरन्तरता दिन नेपालले उक्त सहयोग प्राप्त गर्ने सुनिश्चित भएको सरकारले जनाएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताका अनुसार कूटनीतिक पहल तथा गाभीसँगको संवादपछि नेपालका लागि खोप सहयोग सुनिश्चित भएको हो । यस सहयोगले बालबालिका तथा अन्य लक्षित जनसङ्ख्यालाई विभिन्न संक्रामक रोगविरुद्ध खोप उपलब्ध गराउने कार्यक्रमलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

सरकारका अनुसार गाभीले नेपाललाई उपलब्ध गराउने सहयोगसँगै पुरानो दायित्वसमेत मिनाहा हुने भएको छ । नेपालले गाभीलाई फिर्ता गर्नुपर्ने भनिएको ३ लाख ८ हजार २७१ अमेरिकी डलर रकम मिनाहा गर्ने सहमति भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।

सरकारले यसलाई राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । अन्तर्राष्ट्रिय साझेदारबाट प्राप्त हुने सहयोगले नियमित खोप सेवाको पहुँच विस्तार गर्न, खोपको आपूर्ति सुनिश्चित गर्न तथा कार्यक्रमलाई दीर्घकालसम्म निरन्तरता दिन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका तथा अन्य लक्षित समूहलाई विभिन्न संक्रामक रोगबाट सुरक्षित राख्न नियमित रूपमा खोप प्रदान गर्दै आएको छ । खोप खरिद तथा आपूर्ति व्यवस्थापनमा ठूलो रकम खर्च गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय सहयोगले सरकारमाथिको वित्तीय भार कम गर्न सहयोग पुर्‍याउनेछ ।

सन् २०३० सम्म प्राप्त हुने उक्त सहयोगले आगामी वर्षहरूमा खोप खरिदका लागि आवश्यक स्रोत व्यवस्थापन सहज बनाउनुका साथै नियमित खोप सेवाको निरन्तरतामा योगदान पुर्‍याउने सरकारको अपेक्षा छ ।

1

Scroll to Top