गएको भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका भौतिक संरचना, सवारीसाधन तथा अन्य सम्पत्तिको बीमा दाबी भुक्तानी ८२ करोड १३ लाख रुपैयाँ नाघेको छ । बीमा कम्पनीहरूले अग्रिम भुक्तानीसहित उक्त रकम बराबरको दाबी फछ्र्योट गरेका हुन् । तर, बाढीबाट भएको क्षतिबापत परेको कुल प्रारम्भिक दाबीको तुलनामा हालसम्मको भुक्तानी निकै न्यून देखिएको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार, बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा कुल २० अर्ब ९० करोड ४९ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ । हालसम्म यससम्बन्धी २ हजार ४९१ वटा दाबी दर्ता भएका छन् । प्रारम्भिक दाबीको तुलनामा भुक्तानी भएको रकम निकै कम रहेकाले ठूलो हिस्सा अझै मूल्यांकन तथा फछ्र्योटको प्रक्रियामा रहेको देखिन्छ ।
प्राधिकरणको तथ्यांकअनुसार, सबैभन्दा बढी दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ । कम्पनीमा २०९ बीमितबाट ६ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ बराबरको दाबी परेकोमा हालसम्म २३ करोड २३ लाख रुपैयाँ भुक्तानी भएको छ ।
त्यस्तै, सानिमा जिआईसी इन्स्योरेन्समा १९२ बीमितबाट ३ अर्ब ४३ करोड ६ लाख रुपैयाँ बराबरको दाबी परेको छ । कम्पनीले भने हालसम्म ७६ लाख रुपैयाँ मात्रै भुक्तानी गरेको छ । शिखर इन्स्योरेन्समा ४५९ बीमितबाट २ अर्ब ६३ करोड ९१ लाख रुपैयाँ बराबरको दाबी परेकोमा २१ करोड ४७ लाख रुपैयाँ भुक्तानी भएको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले दाबी भुक्तानीमा अग्रता लिएको छ । कम्पनीमा १ अर्ब ७५ करोड ९१ लाख रुपैयाँ बराबरको दाबी परेकोमा हालसम्म २६ करोड ६३ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।
यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ८० लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ५७ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ करोड ६३ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले २ करोड ५४ लाख रुपैयाँ र द ओरिएन्टल इन्स्योरेन्सले ४ करोड ३६ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् ।
सम्पत्ति बीमामा सबैभन्दा बढी दाबी
बीमालेखको प्रकारअनुसार सबैभन्दा बढी दाबी सम्पत्ति बीमामा परेको छ । यस शीर्षकमा ५७६ बीमितबाट ९ अर्ब ५६ करोड ३५ लाख रुपैयाँ बराबरको दाबी परेको छ । तर, हालसम्म १६ करोड २८ लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ ।
इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाअन्तर्गत १७४ बीमितबाट ४ अर्ब ४० करोड १७ लाख रुपैयाँ बराबरको दाबी परेकोमा १७ करोड ४० लाख रुपैयाँ भुक्तानी भएको छ ।
मोटर बीमातर्फ सबैभन्दा धेरै १ हजार ६७ वटा दाबी दर्ता भएका छन् । यस शीर्षकमा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ बराबरको दाबी परेकोमा हालसम्म २३ करोड ६६ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । सवारीसाधनमा भएको क्षतिका कारण मोटर बीमाअन्तर्गत दाबी गर्ने बीमितको संख्या अन्य शीर्षकको तुलनामा बढी देखिएको छ ।
त्यस्तै, परिवहन बीमाअन्तर्गत २ अर्ब ३३ करोड ५५ लाख रुपैयाँ बराबरको दाबी परेकोमा २३ करोड ८९ लाख रुपैयाँ भुक्तानी भएको छ ।
मूल्यांकन र फछ्र्योट प्रक्रियामा निर्भर भुक्तानी
बाढीबाट भएको क्षतिको प्रारम्भिक दाबी रकम ठूलो भए पनि बीमितले पाउने वास्तविक भुक्तानी दाबीको मूल्यांकन र बीमालेखका सर्तमा निर्भर हुन्छ । क्षतिको प्रारम्भिक निरीक्षण, आवश्यक कागजातको परीक्षण, दाबीयोग्य रकम निर्धारण र अन्तिम प्रतिवेदन तयार गर्ने प्रक्रियाले भुक्तानीमा समय लाग्न सक्छ ।
प्राधिकरणले उपलब्ध गराएको विवरणमा हालसम्म कति दाबीको प्रारम्भिक मूल्यांकन सम्पन्न भएको र कति दाबी अन्तिम रूपमा फछ्र्योट भएको भन्ने संख्या खुलाइएको छैन । बाँकी दाबीको मूल्यांकन तथा फछ्र्योट प्रक्रिया अघि बढ्दै जाँदा भुक्तानी रकम थप बढ्न सक्ने देखिन्छ । यद्यपि, बाढी प्रभावित बीमितले क्षतिपूर्ति पाउन कति समय कुर्नुपर्ने हो भन्ने विषय अझै स्पष्ट भएको छैन ।


