Banijya News

निर्यातमा ५७ प्रतिशतको उछाल आए पनि व्यापार घाटा साढे ५ खर्ब नजिक

1
1.0K Shares

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन–असोज) मा नेपालको वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले विस्तार भएको छ । निर्यात व्यापारमा उल्लेख्य सुधार देखिए पनि आयातको उच्च वृद्धिका कारण मुलुकको व्यापार घाटा भने साढे ५ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

वैदेशिक व्यापारको पछिल्लो तथ्यांकअनुसार, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुल व्यापार ४०.७१ प्रतिशतले बढेर ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा मुलुकको कुल वैदेशिक व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा निर्यात व्यापारमा ५७.०३ प्रतिशतको वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको नेपालले चालु आवको सोही अवधिमा १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ ।

निर्यातमा भएको वृद्धिसँगै कुल वैदेशिक व्यापारमा यसको हिस्सा पनि बढेको छ । अघिल्लो वर्ष १३.४६ प्रतिशत रहेको निर्यातको हिस्सा चालु आवको पहिलो त्रैमासमा बढेर १५.०२ प्रतिशत पुगेको छ । यसले नेपालको वैदेशिक व्यापारमा निर्यातको योगदान विस्तार हुँदै गएको देखाउँछ ।

यद्यपि, आयातमा भएको उच्च वृद्धिले व्यापार सन्तुलनमा दबाब कायम राखेको छ । चालु आवको असोज मसान्तसम्ममा आयात ३८.१८ प्रतिशतले बढेर ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।

यसैको परिणामस्वरूप समीक्षा अवधिमा व्यापार घाटा ३४.७१ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ थियो ।

कुल व्यापारमा आयातको हिस्सा भने अघिल्लो वर्षको ८६.५४ प्रतिशतबाट घटेर ८४.९८ प्रतिशतमा झरेको छ । त्यस्तै, एक रुपैयाँको निर्यात गर्दा ६ रुपैयाँ ४३ पैसाको आयात हुने अनुपात घटेर ५ रुपैयाँ ६६ पैसामा सीमित भएको छ ।

निर्यातमा आएको सुधारले व्यापार संरचनामा सकारात्मक संकेत देखाए पनि आयातको तुलनामा निर्यातको आकार अझै निकै सानो छ । त्यसैले, व्यापार घाटा नियन्त्रण गर्न निर्यात विस्तार र स्वदेशी उत्पादन प्रवद्र्धनलाई थप प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।

1

Scroll to Top