फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा करिब ५.५६ प्रतिशतले बढाउन सफल भएको छ ।
चालु आवको असोज मसान्तसम्म संस्थाले १ करोड ७७ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले १ करोड ६८ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअनुसार खुद नाफा करिब ५.५६ प्रतिशतले बढेको हो ।
संस्थाले पहिलो त्रैमासमा खुद नाफा बढाउनुका साथै कर्जा व्यवस्थापनमा सुधार गरेको छ । संस्थाको सार्वजनिक वित्तीय विवरणअनुसार आम्दानीका केही क्षेत्रमा दबाब रहे पनि खराब कर्जा नियन्त्रण र कर्जा नोक्सानी व्यवस्थापनमा सकारात्मक परिवर्तन देखिएको हो ।
त्यस्तै, संस्थाको कुल निष्क्रिय कर्जा अनुपात अघिल्लो वर्षको असोज मसान्तमा ४.२४ प्रतिशत रहेकामा घटेर १.९७ प्रतिशतमा सीमित भएको छ । एक वर्षमा निष्क्रिय कर्जा अनुपात २.२७ प्रतिशत बिन्दुले घटेको हो ।
खुद निष्क्रिय कर्जा अनुपात पनि ०.२४ प्रतिशतबाट घटेर शून्यमा पुगेको छ । निष्क्रिय कर्जाका लागि गरिएको नोक्सानी व्यवस्थाको तुलनामा सुरक्षण अनुपात ११७.२५ प्रतिशतबाट बढेर १५०.१० प्रतिशत कायम भएको छ ।
कर्जा नोक्सानी व्यवस्थामा भएको परिवर्तनले पनि नाफा वृद्धिमा योगदान दिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा कर्जा तथा अन्य सम्भावित नोक्सानीका लागि ७५ लाख २९ हजार रुपैयाँ खर्च छुट्याएको संस्थाले यसपटक सोही शीर्षकमा ६७ लाख ४१ हजार रुपैयाँ राइटब्याक गरेको छ ।
समीक्षा अवधिमा चालु त्रैमासबाट सिर्जित वितरणयोग्य नाफा १ करोड २९ लाख ७५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो रकम ७८ लाख ३१ हजार रुपैयाँ थियो । यसअनुसार वितरणयोग्य नाफा ६५.६९ प्रतिशतले बढेको हो ।
अघिल्लो वर्षको सञ्चित रकम तथा प्रस्तावित नगद लाभांशसमेत समायोजन गर्दा असोज मसान्तमा कुल वितरणयोग्य नाफा १ करोड ९० लाख १४ हजार रुपैयाँ रहेको छ ।
तर, संस्थाको ब्याजदर अन्तर १.५७ प्रतिशतबाट घटेर १.०८ प्रतिशत कायम भएको छ । ब्याज आम्दानी तथा खुद ब्याज आम्दानीमा आएको संकुचनले नियमित व्यवसायबाट नाफा बढाउन चुनौती रहेको संकेत गर्छ । साथै, संस्थाको खुद सञ्चालन आम्दानी ११.१७ प्रतिशतले बढेर ४ करोड ७ लाख ३६ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा अघिल्लो वर्षको २ करोड ४० लाख ५८ हजार रुपैयाँबाट बढेर २ करोड ५३ लाख ९७ हजार रुपैयाँ कायम भएको छ ।


