चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालमा लगानी गरी व्यवसाय सञ्चालन गरिरहेका विदेशी लगानीकर्ताले लाभांश, रोयल्टी तथा अन्य सेवा शुल्कबापत ठूलो रकम विदेश लगेका छन् ।
उद्योग विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको अवधिमा विदेशी लगानीकर्ताले लाभांशबापत १९ करोड ६४ लाख १६ हजार रुपैयाँ स्वदेश फिर्ता लगेका हुन् ।
यसैगरी, रोयल्टीबापत पनि विभिन्न मुद्रामा उल्लेख्य रकम बाहिरिएको छ । विभागका अनुसार रोयल्टीबापत नेपाली रुपैयाँमा ९१ करोड ६६ लाख रुपैयाँ भुक्तानी गरिएको छ । त्यस्तै, अमेरिकी डलरमा ११ लाख ९० हजार अर्थात् करिब १६ करोड रुपैयाँ र भारतीय रुपैयाँमा २ करोड ५७ लाख अर्थात् करिब ४ करोड ११ लाख रुपैयाँ बाहिरिएको छ ।
लाभांश र रोयल्टीबापतको रकमसँगै विदेशी लगानीकर्ताले सेवा शुल्कका रूपमा पनि थप रकम विदेश पठाएका छन् । यद्यपि, सेवा शुल्कबापत बाहिरिएको कुल रकमको विवरण उपलब्ध तथ्यांकमा उल्लेख गरिएको छैन ।
यस अवधिमा उद्योग विभागले १४४ जना विदेशी लगानीकर्ता, ९९ जना प्रतिनिधि तथा उनीहरूका १५२ जना आश्रित परिवारका सदस्यलाई व्यावसायिक भिसाका लागि सिफारिस गरेको छ । यसले नेपालमा विदेशी लगानीसम्बन्धी व्यावसायिक गतिविधि जारी रहेको देखाउँछ ।



