कामना सेवा विकास बैंकले २०औँ वार्षिकोत्सवको अवसरमा देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बैंकको विभिन्न क्षेत्रीय कार्यालय तथा शाखा कार्यालयहरुमा उक्त रक्तदान कार्यक्रम हुने बैंकले जनाएको छ ।
कोशी प्रदेशको विराटनगरमा कार्तिक १५ गते, काठमाडौंको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालय, मधेश प्रदेशको बर्दिवास, नारायणगढ क्षेत्रको कावासोती, पोखराको न्युरोड, बुटवल क्षेत्रको बुटवल, पश्चिम क्षेत्रको घोराही र महेन्द्रनगरमा कार्तिक १८ गते वृहत् रक्तदान कार्यक्रम गर्न लागिएको हो ।
त्यस्तै, काठमाडौं उपत्यका लगायतका देशका विभिन्न शहरहरुमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै उक्त रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको बैंकले जनाएको छ । बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा छैठौँ अन्तर बैंक तथा वित्तीय संस्थास्तरीय फुटसल प्रतियोगितासमेत आयोजना गर्दैछ । कात्तिक १४ र १५ गते काठमाडौंको धन्यन्तरी फुटसल कोर्टमा हुने उक्त फुटसल प्रतियोगितामा आर्थिक पत्रकारहरुको संगठन सेजन, नाफिज र इमान लगायत अन्य ३० वटा बैंक तथा वित्तीय संस्थाहरुका टिमहरुको सहभागीता रहेको छ ।


