राष्ट्रियस्तरका विकास बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म आठ राष्ट्रियस्तरका विकास बैंकले कुल १ अर्ब ६७ करोड ५ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा ११३.२३ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा यी बैंकहरूको कुल खुद नाफा ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ रहेको थियो । यसपटक बैंकहरूको नाफा करिब दोब्बरले बढ्दा अधिकांश बैंकले सकारात्मक वृद्धि हासिल गरेका छन् । यद्यपि, केही बैंकको नाफा भने घटेको छ ।
नाफाका आधारमा लुम्बिनी विकास बैंक पहिलो स्थानमा रहेको छ । बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३२ करोड ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा ३४ करोड ८५ लाख ७७ हजार रुपैयाँ घाटामा रहेको बैंक यस वर्ष नाफामा फर्किएको हो । घाटाबाट नाफामा फर्किएसँगै बैंकको वित्तीय नतिजामा उल्लेख्य सुधार देखिएको छ ।
त्यसैगरी, मुक्तिनाथ विकास बैंक ३२ करोड २४ लाख २४ हजार रुपैयाँ खुद नाफासहित दोस्रो स्थानमा रहेको छ । गत वर्षको पहिलो त्रैमासमा २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको बैंकले यसपटक ४३.४४ प्रतिशत वृद्धि हासिल गरेको हो ।
गरिमा विकास बैंकले २४ करोड १ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । तर, बैंकको नाफा गत वर्षको २५ करोड ५ लाख ७५ हजार रुपैयाँको तुलनामा ४.१७ प्रतिशतले घटेको छ । त्यस्तै, कामना सेवा विकास बैंकले २३ करोड ११ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको १९ करोड ७५ लाख ८४ हजार रुपैयाँको तुलनामा बैंकको नाफा १६.९९ प्रतिशतले बढेको हो ।
प्रतिशतका आधारमा सबैभन्दा उच्च नाफा वृद्धि ज्योति विकास बैंकले गरेको छ । बैंकले गत वर्षको पहिलो त्रैमासमा ७ करोड ३ लाख ३४ हजार रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढाएर २० करोड १ लाख ६१ हजार रुपैयाँ पुर्याएको छ । यो गत वर्षको तुलनामा १८४.५९ प्रतिशतको वृद्धि हो ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १९ करोड ७६ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि, गत वर्षको २० करोड ३० लाख ४१ हजार रुपैयाँको तुलनामा बैंकको नाफा २.६६ प्रतिशतले घटेको छ ।
महालक्ष्मी विकास बैंकले भने नाफा बढाएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ८४ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा ९ करोड ७५ लाख १२ हजार रुपैयाँ नाफा कमाएको बैंकले यसपटक २१.४९ प्रतिशतको वृद्धि हासिल गरेको हो ।
यता, सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा भने सबैभन्दा ठूलो गिरावट आएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ३४ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा ८ करोड ८२ लाख ११ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा यसपटक ६२.०७ प्रतिशतले घटेको हो ।
समग्रमा राष्ट्रियस्तरका विकास बैंकहरूको नाफा उल्लेख्य रूपमा बढे पनि सबै बैंकको वित्तीय नतिजा समान देखिएको छैन । लुम्बिनी विकास बैंक घाटाबाट नाफामा फर्किएको छ भने ज्योति विकास बैंकले प्रतिशतका आधारमा उच्च वृद्धि गरेको छ । अर्कोतर्फ, गरिमा, शाइन रेसुङ्गा र सांग्रिला विकास बैंकको नाफा घटेको छ । यसले पहिलो त्रैमासमा विकास बैंकहरूको नाफा वृद्धिको अवस्था बैंकअनुसार फरक रहेको देखिन्छ ।


