Banijya News

बिटुमिनको विकल्पमा कङ्क्रिट सडकलाई प्राथमिकता दिँदै सरकार

1
1.0K Shares

सरकारले सार्वजनिक सडक निर्माणमा आयातित अलकत्रा (बिटुमिन) को सट्टा स्वदेशी सिमेन्ट प्रयोग गरी निर्माण गरिने कङ्क्रिट सडकलाई प्राथमिकता दिने नीति अघि सारेको छ । यसबाट स्वदेशी सिमेन्ट उद्योगको माग बढ्नुका साथै वार्षिक करिब ११ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बचत हुने सरकारको अपेक्षा छ ।

मन्त्रिपरिषदबाट स्वीकृत ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रयोगसम्बन्धी निर्देशिका’ मार्फत सार्वजनिक सडक निर्माणमा स्वदेशी उत्पादनको प्रयोग बढाउने व्यवस्था गरिएको हो । निर्देशिकाअनुसार, विदेशी बिटुमिनको विकल्पमा स्वदेशी सिमेन्ट प्रयोग गरी कङ्क्रिट सडक निर्माणलाई प्राथमिकता दिइनेछ ।

सरकारले यस नीतिलाई कार्यान्वयनमा ल्याउँदा एकातिर स्वदेशी सिमेन्ट उद्योगको उत्पादन तथा खपत बढ्ने र अर्कोतिर बिटुमिन आयातमा खर्च हुने ठूलो रकम स्वदेशमै रहने विश्वास लिएको छ । यसले आयात प्रतिस्थापन र पूर्वाधार निर्माणमा स्वदेशी उत्पादनको उपयोग बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अनुसार, कङ्क्रिट सडक निर्माणको प्रारम्भिक लागत कालोपत्रे सडकको तुलनामा केही बढी भए पनि यसको टिकाउ अवधि लामो हुन्छ । कङ्क्रिट सडकको आयु कालोपत्रे सडकको तुलनामा तीन गुणासम्म बढी हुन सक्ने महासंघको भनाइ छ ।

राष्ट्रिय योजना आयोगले पनि नयाँ प्रविधिको प्रयोगमार्फत कङ्क्रिट सडकलाई दीर्घकालीन विकल्पका रूपमा अघि बढाउन सकिने बताउँदै आएको छ । विशेषगरी ‘रोलर कम्प्याक्टेड कङ्क्रिट’ प्रविधिबाट फलामे छड प्रयोग नगरी २५ वर्षभन्दा बढी टिक्ने सडक निर्माण गर्न सकिने उल्लेख छ ।

हिमाली तथा चिसो क्षेत्रमा तापक्रमको उतारचढाव, वर्षा र हिमपातका कारण कालोपत्रे सडक छिट्टै बिग्रिने समस्या रहेकाले त्यस्ता क्षेत्रमा कङ्क्रिट सडक प्रभावकारी विकल्प बन्न सक्ने विज्ञहरूको भनाइ छ ।

यद्यपि, कङ्क्रिट सडकमा सवारीसाधनका टायर तुलनात्मक रूपमा बढी खिइने समस्या हुन सक्छ । सडकको माथिल्लो सतहमा हल्का कालोपत्रे तह थपेर यस्तो समस्या न्यूनीकरण गर्न सकिने विज्ञहरूले बताएका छन् ।

1

Scroll to Top