Banijya News

४१५ रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार !

1
1.0K Shares

बिग मार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका एक ग्राहकले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन् ।

कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत ती ग्राहकले बम्पर पुरस्कार जितेको आन्तरिक राजस्व विभागले जनाएको हो ।

विभागले कात्तिक १ देखि १५ गतेसम्म भएको कारोबारका आधारमा छनोट गरेका १५ जना पाक्षिक विजेता र एक जना बम्पर विजेताको नाम सोमबार सार्वजनिक गरेको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा विजेताहरूको नाम घोषणा गरिएको हो ।

पुरस्कार विजेता छनोट तथा नाम सार्वजनिक गर्ने कार्यक्रममा नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी क्रिकेट खेलाडीहरूलाई उपस्थित गराइएको थियो ।

सरकारले उपभोक्तालाई प्रत्येक खरिदमा बिल लिन प्रोत्साहित गर्ने, व्यवसायीलाई कारोबारको अभिलेख राख्न जिम्मेवार बनाउने र कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

खरिद तथा बिक्री कारोबारको आधिकारिक अभिलेखका रूपमा रहने बिलले कर प्रणालीमा पारदर्शिता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । उपभोक्ताले बिल लिने र व्यवसायीले बिल जारी गर्ने अभ्यास बढ्दा वास्तविक कारोबारको विवरण सरकारी प्रणालीमा समेटिन सहयोग पुग्छ ।

यसरी सामान्य खरिदलाई पनि कर प्रणालीसँग जोडेर पुरस्कारको अवसर प्रदान गर्ने कार्यक्रमले उपभोक्ताको सहभागिता बढाउनुका साथै औपचारिक अर्थतन्त्रको विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

1

Scroll to Top