बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिने क्रम तीव्र भए पनि बचतकर्ताको पैसा राख्ने प्रवृत्तिमा भने परिवर्तन देखिन थालेको छ । बैंकहरूको निक्षेप ब्याजदर निरन्तर घट्दै गएपछि निश्चित अवधिका लागि रकम राखिने मुद्दति निक्षेपप्रति आकर्षण कमजोर बनेको हो ।
मुद्दति र साधारण बचत खाताबीचको ब्याजदर अन्तर साँघुरिँदै जाँदा परिपक्व भएको मुद्दति निक्षेप नवीकरण गर्नुको सट्टा बचतकर्ताले रकम साधारण बचत तथा चल्ती खातामा राख्न थालेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८३ भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा मुद्दति निक्षेपको हिस्सा ३४.७ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो हिस्सा ४७.९ प्रतिशत थियो । यसअनुसार एक वर्षको अवधिमा कुल निक्षेपमा मुद्दति निक्षेपको हिस्सा १३.२ प्रतिशत विन्दुले घटेको छ ।
मुद्दति निक्षेपको हिस्सा घट्दा साधारण बचत खाताको हिस्सा भने उल्लेख्य बढेको छ । २०८२ भदौमा कुल निक्षेपको ३८ प्रतिशत रहेको साधारण बचत खाताको हिस्सा २०८३ भदौमा बढेर ४८ प्रतिशत पुगेको छ । त्यस्तै, चल्ती खाताको हिस्सा पनि ५.८ प्रतिशतबाट बढेर ७.५ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
यसले बचतकर्ताले निश्चित अवधिसम्म रकम बैंकमा बाँधेर राख्नुभन्दा आवश्यक पर्दा सहजै झिक्न मिल्ने खातालाई प्राथमिकता दिन थालेको संकेत गर्छ । मुद्दति निक्षेपमा साधारण बचत खाताको तुलनामा बढी ब्याज पाइने भए पनि ब्याजदरबीचको अन्तर पर्याप्त आकर्षक नहुँदा बचतकर्ताले तरलतालाई महत्त्व दिन थालेका हुन् ।
निक्षेपको संरचनामा परिवर्तन देखिए पनि बैंकिङ प्रणालीमा कुल निक्षेपको आकार भने बढिरहेको छ । २०८३ भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा कुल ८३ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा मात्रै निक्षेप ७२ अर्ब ८० करोड रुपैयाँले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो वृद्धि ३२ अर्ब ८६ करोड रुपैयाँमा सीमित थियो । वार्षिक विन्दुगत आधारमा कुल निक्षेप १४.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
निक्षेपको संरचनामा आएको परिवर्तनको प्रमुख कारण बैंकहरूको घट्दो ब्याजदरलाई मानिएको छ । २०८३ भदौ मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.११ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर ३.९६ प्रतिशत थियो । यसैगरी, विकास बैंकको निक्षेप ब्याजदर ४.५८ प्रतिशतबाट घटेर ३.४८ प्रतिशत र वित्त कम्पनीको ५.७३ प्रतिशतबाट घटेर ४.०४ प्रतिशत कायम भएको छ ।
बैंकहरूको आधार दरमा समेत गिरावट आएको छ । भदौ मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ४.७० प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष ५.७२ प्रतिशत थियो। विकास बैंकको आधार दर ८.०९ प्रतिशतबाट घटेर ६.१५ प्रतिशत र वित्त कम्पनीको ८.७७ प्रतिशतबाट घटेर ६.७२ प्रतिशतमा झरेको छ । कर्जाको ब्याजदर पनि घटेर वाणिज्य बैंकमा ६.३८ प्रतिशत, विकास बैंकमा ७.६७ प्रतिशत र वित्त कम्पनीमा ८.४७ प्रतिशत कायम भएको छ ।
ब्याजदर घट्दा कर्जा लिनेहरूलाई राहत मिले पनि बचतकर्ताले निक्षेपबाट पाउने प्रतिफल भने खुम्चिएको छ । मुद्रास्फीतिलाई समेत हिसाब गर्दा निक्षेपबाट प्राप्त हुने वास्तविक प्रतिफल न्यून वा ऋणात्मक हुन सक्ने अवस्था छ । यसले बैंकमा पैसा राखेर ब्याज आम्दानी गर्नेभन्दा अन्य लगानीका क्षेत्र खोज्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न सक्छ । निक्षेपको ब्याजदर लामो समय न्यून रहँदा बैंकिङ प्रणालीमा बचत आकर्षित गर्ने चुनौती थपिन सक्ने देखिन्छ ।
यसैबीच, कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा पनि घटेको छ । २०८२ भदौ मसान्तमा ३५.२ प्रतिशत रहेको संस्थागत निक्षेपको हिस्सा २०८३ भदौमा घटेर ३३.३ प्रतिशतमा सीमित भएको छ । यसले कुल निक्षेपमा व्यक्तिगत तथा अन्य निक्षेपकर्ताको तुलनात्मक योगदान बढेको देखाउँछ ।
निक्षेप बढे पनि कर्जा प्रवाहको अवस्था भने सबै क्षेत्रमा समान छैन । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा वाणिज्य बैंकमा १.७ प्रतिशत, विकास बैंकमा ०.६ प्रतिशत र वित्त कम्पनीमा १.४ प्रतिशतले बढेको छ । तर कृषि क्षेत्रमा प्रवाहित कर्जा २.२ प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा प्रवाहित कर्जा ४.७ प्रतिशतले घटेको छ ।
बैंक तथा वित्तीय संस्थाको कुल कर्जामध्ये ६२.८ प्रतिशत घरजग्गा धितोमा आधारित रहेको छ । चालु सम्पत्ति धितोमा प्रवाहित कर्जाको हिस्सा भने १५.६ प्रतिशत मात्रै छ । यसले बैंकिङ क्षेत्रको कर्जा प्रवाह अझै पनि स्थिर सम्पत्तिमा केन्द्रित रहेको देखाउँछ ।
समग्रमा बैंकिङ प्रणालीमा निक्षेपको आकार बढे पनि त्यसको संरचना मुद्दति खाताबाट साधारण बचत तथा चल्ती खातातर्फ सर्दै गएको छ । घट्दो ब्याजदर, बचतकर्ताको प्रतिफलप्रतिको अपेक्षा र रकमको तरलता कायम राख्ने चाहनाले यस्तो परिवर्तनलाई थप प्रभाव पारेको देखिन्छ । त्यसैले, बैंकहरूले निक्षेपको परिमाण बढाउने मात्र नभई दीर्घकालीन र स्थिर निक्षेप आकर्षित गर्ने रणनीति बनाउनुपर्ने चुनौती देखिएको छ ।
अर्कातिर, ब्याजदर न्यून भएको वर्तमान अवस्थालाई लगानी विस्तारको अवसरका रुपमा उपयोग गर्नुपर्ने आवश्यकता छ । तर, सस्तो ब्याजदर मात्रै पर्याप्त हुँदैन । निजी क्षेत्रमा लगानीको वातावरण, व्यावसायिक विश्वास र उत्पादनशील क्षेत्रमा कर्जाको माग बढ्न सकेको खण्डमा मात्र निक्षेपमा उपलब्ध तरलताबाट मुलुकले अर्थतन्त्रको उत्पादन र रोजगारी विस्तारमा रुपान्तरण हुन सक्ने देखिन्छ ।


