Banijya News

कामना सेवा फुटसल कपको छैटौँ सिजन सम्पन्न, कुमारी र लुम्बिनी विकास बैंक बने च्याम्पियन

1
1.0K Shares

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुटसल कप’को छैटौँ संस्करण सम्पन्न भएको छ । बैंक तथा वित्तीय संस्थाबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पुरुषतर्फ कुमारी बैंक र महिलातर्फ लुम्बिनी विकास बैंक च्याम्पियन बनेका छन् । धन्यन्तरी फुटसलमा आइतबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा रेफ्री संगीता सुनुवारलाई बल हस्तान्तरण गरी गरेका थिए । उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यवसाय अधिकृत, प्रमुख सञ्चालन अधिकृतलगायत विभिन्न विभागका प्रमुख तथा कर्मचारीको उपस्थिति थियो ।

प्रतियोगिताको सुरुवातमा नेपाल आर्थिक पत्रकार समाज (सेजन), नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) बीच मैत्रीपूर्ण खेलसमेत आयोजना गरिएको थियो। उक्त खेलमा नाफिज विजयी भएको थियो ।

मुख्य प्रतियोगिताअन्तर्गत पुरुषतर्फको फाइनलमा कुमारी बैंकले माछापुच्छ्रे बैंकलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै उपाधि जित्यो । त्यस्तै, महिलातर्फको फाइनलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आईएमई बैंकलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै उपाधि रक्षा गर्न सफल भयो ।

प्रतियोगिताको समापन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा आयोजना गर्दै आएको यस प्रतियोगिताले बैंक तथा वित्तीय संस्थाका कर्मचारीबीच खेलकुदका माध्यमबाट आपसी सम्बन्ध, एकता र सहकार्य सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास लिएको जनाएको छ । साथै, कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संस्थाका कर्मचारीलाई एकै ठाउँमा जोड्दै स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न प्रतियोगिता सहयोगी बनेको बैंकको भनाइ छ ।

यसैबीच, बैंकले आफ्नो २०औँ वार्षिकोत्सवकै अवसरमा कात्तिक १८ गते बुधबार देशव्यापी रूपमा रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

1

Scroll to Top