Banijya News

ऋण लिनुअघि आम्दानी र भुक्तानी क्षमता हेर्न राष्ट्र बैंकको सुझाव

1
1.0K Shares

नेपाल राष्ट्र बैंकले ऋण लिनुअघि आफ्नो आम्दानी, खर्च र भुक्तानी क्षमता मूल्यांकन गर्न सर्वसाधारणलाई सुझाव दिएको छ । कर्जाको उद्देश्य स्पष्ट पारेर मात्रै ऋण लिन र जुन प्रयोजनका लागि कर्जा लिइएको हो, सोही काममा खर्च गर्न बैंकले आग्रह गरेको हो ।

राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले कात्तिक १७ गते सार्वजनिक गरेको वित्तीय सचेतना सामग्रीमा ऋण लिनुअघि ध्यान दिनुपर्ने विभिन्न विषय समेटिएका छन् । बैंकले किस्ता तिर्नुपर्ने अवधिमा आम्दानी घट्न वा खर्च बढ्न सक्ने सम्भावनालाई समेत विचार गरेर मात्रै ऋण लिनुपर्ने जनाएको छ ।

कर्जा छनोट गर्दा विभिन्न बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउने ब्याजदर, शुल्क, प्रक्रिया, अवधि र सर्तहरू तुलना गर्न राष्ट्र बैंकले सुझाएको छ । स्थिर र परिवर्तनशील ब्याजदरबीचको भिन्नता बुझ्नुपर्ने उल्लेख गर्दै परिवर्तनशील ब्याजदरमा आधार दर वा प्रिमियम परिवर्तन हुँदा तिर्नुपर्ने ब्याजसमेत घटबढ हुन सक्ने जनाएको छ ।

त्यस्तै, ऋण लिनुअघि ब्याज र अन्य शुल्कसमेत जोडेर वार्षिक लागत हिसाब गर्न तथा आफ्नो आम्दानीले नियमित किस्ता तिर्न पुग्छ कि पुग्दैन भन्ने यकिन गर्न बैंकले आग्रह गरेको छ । पुरानो ऋण तिर्न वा पहिले नै भएको खर्च धान्न नयाँ ऋण लिँदा ऋणको भार थपिँदै जान सक्ने भएकाले यस्तो अभ्यासबाट बच्नुपर्ने जनाएको छ ।

राष्ट्र बैंकले औपचारिक वित्तीय संस्थाबाट मात्रै कर्जा लिन र सम्झौतामा हस्ताक्षर गर्नुअघि भुक्तानी तालिका, ढिला भुक्तानी गर्दा लाग्ने शुल्क तथा ब्याज र धितो वा जमानीसम्बन्धी कानुनी दायित्व राम्ररी बुझ्न पनि सुझाएको छ । समयअगावै ऋण चुक्ता गर्दा वा अर्को संस्थामा कर्जा सार्दा लाग्ने शुल्क र प्रक्रियाबारे समेत पहिल्यै जानकारी लिनुपर्ने सामग्रीमा उल्लेख छ ।

समयमै किस्ता तिर्न कठिन भए सम्बन्धित बैंकसँग कर्जाका सर्त परिमार्जन गर्ने विकल्पबारे छलफल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । भुक्तानीमा ढिलाइ भए विलम्ब शुल्क लाग्नुका साथै ऋणीको कर्जा जोखिम मूल्यांकनमा समेत नकारात्मक असर पर्न सक्ने चेतावनी दिएको छ । कर्जा सेवासम्बन्धी गुनासो भए पहिले सम्बन्धित संस्थामा र त्यहाँबाट समाधान नभए नियामक वा न्यायिक निकायमा जान सकिने व्यवस्था रहेको पनि बैंकले स्पष्ट पारेको छ ।

1

Scroll to Top