Banijya News

भैरहवा भन्सारबाट राजस्व लक्ष्यभन्दा चार अर्ब बढी संकलन

1
1.0K Shares

भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै राजस्व संकलनमा उल्लेख्य प्रगति गरेको छ । साउनदेखि असोज मसान्तसम्म कार्यालयले सरकारले निर्धारण गरेको लक्ष्यभन्दा ४ अर्ब ६ करोड २० लाख रुपैयाँ बढी राजस्व संकलन गरेको हो ।

भन्सार कार्यालयका अनुसार, पहिलो त्रैमासमा कुल ३३ अर्ब ३४ करोड २० लाख रुपैयाँ राजस्व संकलन भएको छ । सरकारले यस अवधिका लागि २९ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । कार्यालयले निर्धारित लक्ष्यको ११३.८६ प्रतिशत राजस्व उठाउन सफल भएको हो ।

भैरहवा भन्सार प्रमुख हरिहर पौडेलका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा २७ अर्ब ७५ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । उक्त अवधिमा लक्ष्यको ९७.१४ प्रतिशत मात्रै राजस्व उठेको थियो । यस वर्ष गत वर्षको तुलनामा राजस्व संकलनमा उल्लेख्य सुधार देखिएको उनले बताए ।

महिनागत तथ्यांक हेर्दा असोजमा राजस्व संकलन सबैभन्दा उच्च रहेको छ । साउनमा ८ अर्ब ५४ करोड रुपैयाँ लक्ष्य रहेकामा ८ अर्ब ८३ करोड २ लाख रुपैयाँ संकलन भएको थियो । त्यस्तै, भदौमा ९ अर्ब ७६ करोड रुपैयाँको लक्ष्यविरुद्ध १० अर्ब ६३ करोड १६ लाख रुपैयाँ राजस्व उठेको थियो ।

असोजमा भने राजस्व संकलन थप तीव्र बनेको देखिन्छ । उक्त महिनाका लागि १० अर्ब ९८ करोड रुपैयाँ लक्ष्य निर्धारण गरिएकामा १३ अर्ब ८८ करोड रुपैयाँ संकलन भएको छ । यो असोज महिनाको लक्ष्यको १२६.४१ प्रतिशत हो । असोजमा भएको उच्च संकलनले समग्र त्रैमासिक उपलब्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्सार कार्यालयका सूचना अधिकृत उद्धव ढुङ्गानाले बताए ।

राजस्व वृद्धिसँगै भैरहवा नाकाबाट हुने वैदेशिक व्यापारमा समेत विस्तार देखिएको छ । चालु आवको असोजमा मात्रै ३८ अर्ब २१ करोड ११ लाख रुपैयाँ बराबरका वस्तु आयात भएका छन् । गत आवको सोही महिनामा २३ अर्ब ३८ करोड रुपैयाँको आयात भएको थियो ।

त्यस्तै, असोजमा ४ अर्ब १५ करोड १५ लाख रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन् । गत वर्षको सोही अवधिमा २ अर्ब ६६ करोड रुपैयाँको निर्यात भएको थियो । यसले आयातसँगै निर्यात व्यापारसमेत बढेको देखाउँछ ।

भन्सार राजस्वमा सवारीसाधन तथा इन्धनजन्य वस्तुको योगदान प्रमुख रहेको छ । मोटरसाइकल, जीप, कार, भ्यान, विद्युतीय कार, पिकअप, पेट्रोल, एलपी ग्यास, फलाम र मोबाइल फोन मुख्य राजस्व योगदानकर्ता वस्तु हुन् । सूचना अधिकृत ढुङ्गानाका अनुसार असोजमा प्रमुख १० आयातीत वस्तुबाट मात्रै १० अर्ब ५२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । यो महिनाको कुल राजस्वको करिब ५३ प्रतिशत हो ।

निर्याततर्फ प्रशोधित भटमासको तेल प्रमुख वस्तुका रूपमा रहेको छ । यसबाहेक आल्मुनियमका उत्पादन, कृत्रिम धागो, चाउचाउ, नुडल्स, पास्ता, फलामका सामग्री, पशु आहारको कच्चा पदार्थ, खयर कत्था र सिमेन्ट निर्यात हुने गरेका छन् ।

आयात तथा निर्यात दुवैमा भएको वृद्धि र लक्ष्यभन्दा बढी राजस्व संकलनले भैरहवा भन्सार नाकाको व्यापारिक गतिविधि विस्तार हुँदै गएको संकेत गरेको छ ।

1

Scroll to Top