काठमाडौं महानगरपालिकाले नजिकिँदै गरेको तिहार पर्वलाई लक्षित गर्दै महानगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्रीको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ । महानगरले स्वदेशी फूल तथा मालाको प्रयोगलाई प्रोत्साहन गर्दै नेपाली किसानले उत्पादन गरेका फूलमाला बिक्रीका लागि विभिन्न स्थानसमेत तोकेको छ ।
महानगर प्रहरी बलले सूचना जारी गर्दै प्लास्टिकजन्य तथा गुणस्तर कायम नभएका फूल, माला र सजावटका सामग्री बिक्री वितरण नगर्न व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेको हो । सूचनाको अवज्ञा गरी त्यस्ता सामग्री बिक्री गरेको पाइएमा सम्पूर्ण सामग्री जफत गरिने महानगरले चेतावनी दिएको छ ।
नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाले उचित बजार पाउन र उपभोक्तालाई खरिद गर्न सहज होस् भन्ने उद्देश्यले महानगरले विभिन्न स्थानमा बिक्री वितरणको व्यवस्था मिलाएको जनाएको छ ।
महानगरका अनुसार, नयाँ बानेश्वरस्थित एनबी सेन्टर र आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्य बानेश्वरको सेल्सबेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरमा फूलमाला बिक्री गर्न सकिनेछ ।
त्यस्तै, चाबहिलको एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार र केएल टावर अगाडि, कमलादीस्थित आईटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौं मल तथा न्युप्लाजास्थित बज्र कम्प्लेक्समा पनि बिक्री स्थल तोकिएको छ ।
यसैगरी, स्वयम्भूको धर्मचक्र पार्क, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर, माछापोखरीको बुद्ध मल, कालिमाटीको कालिमाटी ब्याङ्क्वेट र चौखेलमा समेत फूलमाला बिक्री गर्न पाइनेछ ।
हाँडीगाउँमा वडा नम्बर ५ कार्यालयअगाडिको डबली र गणेश मन्दिर डबली, सामाखुशीको कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी तथा गोंगबु, चप्पल कारखाना, बालुवाटार र बाँसबारीका बिग मार्टमा पनि बिक्रीको व्यवस्था गरिएको छ ।
त्यसैगरी, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल र भृकुटीमण्डपलाई पनि बिक्री स्थलका रूपमा तोकिएको महानगरले जनाएको छ ।
महानगरले स्वदेशी उत्पादनको प्रवद्र्धन, स्थानीय किसानलाई बजार उपलब्ध गराउने तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग निरुत्साहित गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको हो । बिक्री स्थल तथा अन्य विषयमा थप जानकारी र सहजीकरण आवश्यक परेमा व्यवसायी तथा सर्वसाधारणले महानगर प्रहरी बलको कार्यालयमा सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख छ ।


