उपभोक्ताले जुनसुकै कम्पनीको खाली एलपी ग्यास सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन पाउने व्यवस्था गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता विमल पोखरेलले दायर गरेको रिटमा ग्यासको कृत्रिम अभाव, कालोबजारी र सिलिन्डर साटासाटमा उपभोक्ताले भोग्दै आएको झन्झट अन्त्य गर्न यस्तो व्यवस्था आवश्यक रहेको उल्लेख गरिएको छ ।
रिटमा ग्यास उद्योगी र डिलरको मिलेमतोमा बजारमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई अर्को कम्पनीको नयाँ सिलिन्डर महँगो मूल्यमा किन्न बाध्य पार्ने गरिएको आरोप लगाइएको छ । यसले उपभोक्ताको अधिकार र सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक हकमा समेत असर पुर्याएको निवेदकको जिकिर छ ।
सरकारले एलपी ग्यासलाई अत्यावश्यक वस्तुको सूचीमा राखे पनि दसैँ, तिहारलगायत चाडपर्वका समयमा अभाव र कालोबजारीको समस्या दोहोरिने गरेको रिटमा उल्लेख छ । यस्तो अवस्थाबाट विद्यार्थी, मजदुर तथा सर्वसाधारण बढी प्रभावित हुने गरेको निवेदकको भनाइ छ ।
ग्यास उद्योगमा सीमित समूहको प्रभाव र सिन्डिकेटका कारण उपभोक्ताले वर्षौंदेखि समस्या भोग्नुपरेको दाबी गर्दै रिटमा जुनसुकै कम्पनीको सिलिन्डर सहज रूपमा साट्न मिल्ने कानुनी व्यवस्था गर्न माग गरिएको छ ।
निवेदकले मागबमोजिम व्यवस्था कार्यान्वयन गर्न अन्तरिम आदेश जारी गर्नसमेत माग गरेका छन् । रिटको प्रारम्भिक सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ ।


