होटल, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक प्रतिष्ठानमा खपत हुने एलपी ग्यास सिलिण्डर प्रतिथान २ हजार ७ सय रुपैयाँमा बिक्री गर्न ग्यास उद्योगीहरू तयार भएका छन् । नेपाल एलपी ग्यास उद्योग संघमा आबद्ध उद्योगीहरूले आफूले बिक्री गर्ने कुल ग्यास सिलिण्डरको १० प्रतिशत व्यावसायिक प्रयोजनका लागि छुट्ट्याएर परल मूल्यमा बिक्री गर्ने सहमति गरेका हुन् ।
उद्योगीहरूको यो निर्णयअनुसार दैनिक ११ हजार ७ सय ३७ थान सिलिण्डर व्यावसायिक प्रयोजनका लागि छुट्ट्याइनेछ । हाल घरायसी उपभोक्ता, होटल, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई एउटै मूल्यमा ग्यास बिक्री हुँदै आएकोमा अब व्यावसायिक प्रयोजनका लागि छुट्टै मूल्य र सिलिण्डरको व्यवस्था गर्ने तयारी गरिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमले ग्यासको बढ्दो घाटा नियन्त्रण गर्ने उद्देश्यले उद्योगीहरूलाई लागत मूल्य अर्थात् परल मूल्यमा व्यावसायिक प्रतिष्ठानलाई ग्यास बिक्री गर्न निर्देशन दिएका थिए । सरकारले मासिक ग्यास बिक्री कोटाको ३० प्रतिशत परिमाण व्यावसायिक प्रयोजनका लागि छुट्ट्याउन प्रस्ताव गरेको थियो । तर, उद्योगीहरूले भने तत्कालका लागि १० प्रतिशत मात्रै छुट्ट्याउने निर्णय गरेका छन् ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार, सरकारले मासिक कोटाको ३० प्रतिशत ग्यास व्यावसायिक क्षेत्रमा पठाउन निर्देशन दिए पनि उद्योगीहरूबीचको छलफलबाट १० प्रतिशतमा सहमति जुटेको हो । उद्योगीहरूले यससम्बन्धी औपचारिक पत्र मन्त्रालय र निगमलाई पठाउने तयारी गरेका छन् । सरकारले दिएको निर्देशन र उद्योगीहरूको प्रस्तावबीचको फरकबारे अब सरकारी निकायको प्रतिक्रिया हेरेर थप निर्णय गरिने उनले बताए ।
नेपाल आयल निगमका अनुसार, नेपालमा मासिक करिब ५० हजार मेट्रिक टन एलपी ग्यास खपत हुने गरेको छ । एक मेट्रिक टन ग्यासबाट औसत ७० थान सिलिण्डर तयार हुने भएकाले मासिक रूपमा करिब ३५ लाख २१ हजार १ सय २६ थान सिलिण्डर बजारमा पठाउन सकिने देखिन्छ । यसलाई दैनिक औसतमा गणना गर्दा १ लाख १७ हजार ३ सय ७० थान सिलिण्डर हुन्छ ।
उक्त परिमाणको १० प्रतिशतका आधारमा मासिक ३ लाख ५२ हजार १ सय १० थान सिलिण्डर व्यावसायिक प्रयोजनका लागि छुट्ट्याइनेछ । दैनिक रूपमा भने करिब ११ हजार ७ सय ३७ थान सिलिण्डर व्यावसायिक क्षेत्रमा पठाउन सकिनेछ । सरकारले प्रस्ताव गरेको ३० प्रतिशत कार्यान्वयन भएमा भने मासिक १० लाख ५६ हजार ३ सय ३७ थान सिलिण्डर व्यावसायिक प्रयोजनका लागि छुट्ट्याउनुपर्ने हुन्छ ।
हाल निगमले प्रतिसिलिण्डर ६ सय ४० रुपैयाँ घाटा व्यहोरेर उपभोक्तालाई २ हजार ६० रुपैयाँमा ग्यास बिक्री गर्दै आएको छ । जबकि ग्यासको वास्तविक लागत मूल्य प्रतिसिलिण्डर २ हजार ७ सय रुपैयाँ रहेको छ । यसरी एउटा सिलिण्डर बिक्री गर्दा निगमले ६ सय ४० रुपैयाँ घाटा सहनुपरेको छ । घरायसी र व्यावसायिक प्रयोजनमा एउटै मूल्य कायम हुँदा व्यावसायिक क्षेत्रमा खपत हुने ग्यासमा समेत निगमले अनुदानको भार व्यहोर्नुपरेको भन्दै सरकारले व्यावसायिक प्रयोजनका लागि लागत मूल्य लागू गर्न खोजेको हो ।
निगमको प्रस्तावअनुसार, दैनिक खपत हुने सिलिण्डरको ३० प्रतिशत अर्थात् ३५ हजार २ सय ११ थान सिलिण्डर परल मूल्यमा बिक्री गर्न सकिए दैनिक २ करोड २५ लाख ३५ हजार ४० रुपैयाँ बराबरको घाटा नियन्त्रणमा आउने अनुमान गरिएको छ । यसबाट मासिक रूपमा करिब ६७ करोड ६० लाख ५१ हजार २ सय रुपैयाँ घाटा घट्ने प्रक्षेपण गरिएको छ ।
यद्यपि, उद्योगीहरूले तत्काल १० प्रतिशत मात्रै व्यावसायिक प्रयोजनका लागि छुट्ट्याउने प्रस्ताव गरेकाले निगमले अपेक्षा गरेअनुसार घाटा नियन्त्रण हुने वा नहुने विषय कार्यान्वयनपछि मात्रै स्पष्ट हुनेछ । उद्योगीहरूको प्रस्तावअनुसार व्यावसायिक क्षेत्रमा जाने ग्यासको मूल्य २ हजार ७ सय रुपैयाँ कायम हुनेछ भने घरायसी उपभोक्ताले हालकै मूल्यमा ग्यास पाउने व्यवस्था रहनेछ ।
व्यावसायिक र घरायसी प्रयोजनका लागि ग्यास सिलिण्डर छुट्याउने विषयमा उद्योगीहरूले रङ फरक बनाउने सहमति पनि गरेका छन् । संघका अध्यक्ष चन्दका अनुसार, अब व्यावसायिक प्रयोजनका लागि नीलो र घरायसी प्रयोजनका लागि रातो रङको सिलिण्डर प्रयोग गर्ने तयारी गरिएको छ । यसले बजारमा कुन सिलिण्डर कुन प्रयोजनका लागि हो भन्ने छुट्याउन सहज हुने अपेक्षा गरिएको छ ।
होटल तथा रेस्टुरेन्टमा नीलो रङको सिलिण्डर प्रयोग भएमा त्यसलाई व्यावसायिक प्रयोजनको ग्यासका रूपमा पहिचान गर्न सकिनेछ । त्यस्तै, रातो रङको सिलिण्डर घरायसी प्रयोजनका लागि मात्रै प्रयोग गर्नुपर्ने व्यवस्था गरिनेछ । यसबाट घरायसी प्रयोजनका लागि सहुलियत मूल्यमा बिक्री हुने ग्यास व्यावसायिक क्षेत्रमा प्रयोग हुने क्रम नियन्त्रण गर्न सहयोग पुग्ने उद्योगीहरूको विश्वास छ ।
व्यावसायिक प्रयोजनका लागि १९ किलो, ५० किलो र ४५० किलो तौलका छुट्टै सिलिण्डर प्रयोग गर्ने विषयमा समेत छलफल भएको थियो । तर, सिलिण्डरको आकार र तौल परिवर्तन गर्न प्राविधिक तथा व्यवस्थापकीय तयारी आवश्यक पर्ने भएकाले तत्काल कार्यान्वयन गर्न कठिन देखिएको छ । त्यसैले, सुरुमा बजारमा उपलब्ध सिलिण्डरलाई नै फरक रङमा परिवर्तन गरेर प्रयोगमा ल्याउने उद्योगीहरूको तयारी छ ।
यस विषयमा साझा धारणा बनाउन संघले सोमबार काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेको थियो । भेलामा व्यावसायिक प्रयोजनका लागि ग्यासको कोटा छुट्ट्याउने, सिलिण्डरको रङ परिवर्तन गर्ने तथा ग्यास उद्योगहरू एकआपसमा गाभ्ने अर्थात् मर्जरमा जाने विषयमा छलफल भएको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यी विषयमा आवश्यक प्राविधिक तथा नीतिगत कार्ययोजना तयार गरी बिहीबारसम्म पेस गर्न उद्योगीहरूलाई समयसीमा दिएको छ । अध्यक्ष चन्दका अनुसार उद्योगीहरूले १० प्रतिशतको प्रस्तावसहित मन्त्रालय र निगमलाई औपचारिक पत्र पठाउने तयारी गरेका छन् । सरकारले ३० प्रतिशतको निर्देशन दिए पनि उद्योगीहरूले आफ्नो क्षमताअनुसार तत्काल १० प्रतिशतबाट व्यवस्था सुरु गर्नुपर्ने धारणा राखेका छन् ।
हाल नेपालभर करिब १ करोड ७५ लाख थान ग्यास सिलिण्डर मौजुदा रहेको अनुमान छ । तर ती सबै सिलिण्डर दैनिक रूपमा प्रयोगमा आउने गरेका छैनन् । औसतमा दैनिक करिब १ लाख १० हजार थान सिलिण्डर मात्रै बिक्री हुने गरेको उद्योगीहरूको भनाइ छ । त्यसैले कुल सिलिण्डर संख्याभन्दा पनि दैनिक बिक्री हुने ग्यासको परिमाणका आधारमा व्यावसायिक प्रयोजनको कोटा निर्धारण गर्नुपर्ने उनीहरूको तर्क छ ।
नेपालमा कुन क्षेत्रमा कति ग्यास खपत हुन्छ भन्ने यकिन तथ्यांक उपलब्ध छैन । उद्योगीहरूका अनुसार कुल ग्यास खपतको १० देखि १५ प्रतिशत मात्रै व्यावसायिक क्षेत्रमा प्रयोग हुने गरेको छ । काठमाडौंजस्ता ठूला सहरमा होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायमा ग्यासको खपत २० देखि २५ प्रतिशतसम्म पुग्ने गरेको भए पनि ग्रामीण क्षेत्र तथा पहाडी जिल्लामा घरायसी प्रयोजनकै लागि बढी ग्यास खपत हुने गरेको उनीहरूको दाबी छ ।
काठमाडौं, पोखरा, वीरगञ्ज र विराटनगरजस्ता ठूला सहरमा व्यावसायिक खपत तुलनात्मक रूपमा बढी भए पनि देशका अधिकांश स्थानमा यस्तो माग कम रहेको उद्योगीहरूको भनाइ छ । त्यसैले, बजारको वास्तविक माग र आपूर्तिको अवस्था अध्ययन नगरी एकैपटक ३० प्रतिशत ग्यास व्यावसायिक क्षेत्रमा पठाउँदा घरायसी उपभोक्तालाई असर पर्न सक्ने उनीहरूको चिन्ता छ ।
उद्योगीहरूले भने तत्काल १० प्रतिशतबाट व्यवस्था सुरु गरी बजारको मागअनुसार कोटा बढाउन सकिने बताएका छन् । होटल तथा रेस्टुरेन्टबाट व्यावसायिक ग्यासको माग बढ्दै गएमा १० प्रतिशतलाई क्रमशः २० हुँदै ३० प्रतिशतसम्म पुर्याउन आफूहरू तयार रहेको अध्यक्ष चन्दले बताएका छन् । अब सरकार र उद्योगीबीचको सहमतिले ग्यासको मूल्य, आपूर्ति व्यवस्थापन र निगमको घाटा नियन्त्रणमा कस्तो प्रभाव पार्छ भन्ने विषय महत्वपूर्ण हुने देखिएको छ ।


