चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालबाट २ अर्ब रुपैयाँभन्दा बढीको जुस निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार, साउनदेखि असोजसम्म नेपालले विभिन्न प्रकारका २ करोड २६ लाख ६९ हजार ५७५ लिटर जुस निर्यात गरी २ अर्ब २० करोड ७९ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको हो ।
नेपाली जुसको प्रमुख निर्यात बजार भारत बनेको छ । भारतबाहेक केही मात्रामा चीन र जापानमा समेत नेपाली जुस निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।
समीक्षा अवधिमा सबैभन्दा धेरै मिक्स जुस निर्यात भएको छ । तीन महिनामा १ करोड ५७ लाख ५६ हजार ६२४ लिटर मिक्स जुस निर्यातबाट १ अर्ब ४३ करोड १५ लाख ७२ हजार रुपैयाँ आम्दानी भएको छ । जसमध्ये भारतमा मात्रै १ अर्ब ४२ करोड ८२ लाख ९१ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ३३ हजार ३८६ लिटर मिक्स जुस निर्यात भएको छ ।
त्यस्तै, जापानमा २३ लाख ४७ हजार रुपैयाँ बराबरको १३ हजार ३८ लिटर र चीनमा ९ लाख ३५ हजार रुपैयाँ बराबरको १० हजार २०० लिटर मिक्स जुस पठाइएको छ ।
मिक्स जुसपछि सुन्तलाको जुस निर्यात दोस्रो स्थानमा रहेको छ । तीन महिनामा ३५ करोड ८७ लाख ८ हजार रुपैयाँ बराबरको ३२ लाख ७२ हजार २७५ लिटर सुन्तलाको जुस निर्यात भएको छ । त्यस्तै, २२ करोड १३ लाख २२ हजार रुपैयाँ बराबरको १८ लाख ४३ हजार ३२६ लिटर भुइँकटहरको जुस विदेश पठाइएको छ । यी दुवै प्रकारका जुस शतप्रतिशत भारतमा निर्यात भएका हुन् ।
यसैगरी, १६ करोड ८५ लाख २२ हजार रुपैयाँ बराबरको १४ लाख ४८ हजार ९०४ लिटर स्याउको जुस भारत निर्यात भएको छ । ग्रेपफ्रुट जुस १ करोड ५२ लाख ७४ हजार रुपैयाँ र गोलभेँडाको जुस १ करोड २५ लाख ७८ हजार रुपैयाँ बराबरको निर्यात भएको विभागले जनाएको छ ।
तथ्यांकले नेपाली जुसको निर्यातमा भारतको बजार प्रमुख रहेको देखाएको छ । विशेषगरी मिक्स, सुन्तला र भुइँकटहरको जुसको निर्यातले कुल निर्यात आम्दानीमा उल्लेख्य योगदान पुर्याएको छ ।


