सरकारी ठेक्का तथा सार्वजनिक खरिद प्रक्रियालाई अनलाइन माध्यमबाट सञ्चालन गर्ने विद्युतीय खरिद प्रणाली (ईजीपी) सञ्चालनमा आएको छ । मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विश्वबाबू पुडासैनीले यसको उद्घाटन गरेका हुन् ।
कार्यालयका सहसचिव रामप्रसाद आचार्यले नयाँ भर्सनको ईजीपी सिस्टम पुरानो प्रणालीभन्दा सुरक्षित र भरपर्दो भएको दाबी गरेका छन् । आचार्यका अनुसार, पुरानो प्रणालीभन्दा यो प्रणाली सुरक्षित र भरपर्दो रहेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले गम्भीर साइबर सुरक्षा जोखिम देखिएपछि गत भदौ ११ गतेदेखि पुरानो ई–जीपी प्रणाली स्थगित गरेको थियो । प्रणाली बन्द भएपछि सार्वजनिक निकायलाई अस्थायी रूपमा कागजी प्रक्रियामार्फत बोलपत्र आह्वान तथा प्रस्ताव बुझ्ने व्यवस्था मिलाइएको थियो ।
विद्युतीय खरिद प्रणाली (ई–जीपी) दुई महिनादेखि बन्द हुँदा सरकारी खरिद प्रक्रिया प्रभावित भएको छ । प्रणाली ठप्प भएपछि विभिन्न सरकारी निकायले सञ्चालन गर्नुपर्ने बोलपत्र आह्वान, प्रस्ताव दर्ता तथा ठेक्का प्रक्रियामा ढिलाइ भएको छ । यसको असर विकास निर्माणका आयोजनामा समेत पर्न थालेको छ ।
पुरानो प्रणालीमा बोलपत्रको गोपनीयता भंग हुन सक्ने, प्रतिस्पर्धीले प्रस्ताव गरेको रकम सार्वजनिक हुन सक्ने तथा अनधिकृत पहुँचमार्फत बोलपत्रमा हेरफेर हुन सक्ने जोखिम देखिएको थियो । यस्तो जोखिमले सार्वजनिक खरिदको निष्पक्षता र प्रतिस्पर्धात्मक प्रक्रियामा असर पार्न सक्ने भएकाले प्रणाली नै बन्द गरेर नयाँ संस्करण निर्माण गर्ने निर्णय गरिएको थियो ।
नयाँ संस्करण सञ्चालनमा आएपछि अब सरकारी निकायले अनलाइनबाटै बोलपत्र आह्वान, प्रस्ताव दर्ता तथा खरिदसम्बन्धी अन्य प्रक्रिया अघि बढाउन सक्नेछन् ।
ई–जीपी प्रणालीलाई सार्वजनिक खरिदमा पारदर्शिता, प्रतिस्पर्धा र गोपनीयता कायम गर्ने महत्वपूर्ण माध्यम मानिन्छ । तर, लामो समयदेखि प्रणाली बन्द रहँदा कागजी प्रक्रियामा निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको थियो । नयाँ प्रणालीले पुरानो संस्करणका सुरक्षा कमजोरी सम्बोधन गर्दै रोकिएका खरिद तथा ठेक्का प्रक्रियालाई कति छिटो डिजिटल माध्यममा फर्काउन सक्छ भन्ने चासोको विषय बनेको छ ।



