सरकारको स्वामित्व रहेको पुनर्बीमा कम्पनी नेपाल रि–इन्स्योरेन्सले अब शतप्रतिशत हकप्रद शेयर जारी गर्न सक्ने भएको छ । हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रक्रिया अघि बढाउन दिने निर्णय गरेको हो ।
कम्पनीले यसअघि २०८२ साउन १४ गते बसेको सञ्चालक समितिको बैठकबाट हाल कायम शेयरधनीलाई शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । उक्त प्रस्ताव अर्थ मन्त्रालयको स्वीकृति लिएर आगामी साधारणसभामा पेस गर्ने निर्णयसमेत कम्पनीले गरेको थियो ।
कम्पनीको तत्कालीन चुक्ता पूँजी १३ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो । शतप्रतिशत हकप्रद शेयर जारी भएमा कम्पनीको चुक्ता पूँजी दोब्बर वृद्धि भई २६ अर्ब ८४ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीमा संस्थापक शेयरधनीको हिस्सा ८४ प्रतिशत रहेको छ भने सर्वसाधारण शेयरधनीको हिस्सा १६ प्रतिशत रहेको छ । हाल दोस्रो बजारमा नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता ८०१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।


