तिहारको धनतेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बिहीबारदेखि सुन र चाँदीका सिक्का बिक्री गर्ने भएको छ । अघिल्ला २ वर्ष चाँदीका सिक्का (मेडालियन) मात्र बिक्री गरेको राष्ट्र बैंकले यस वर्ष २.५ ग्राम तौलका सुनका असर्फीसमेत बिक्री गर्न लागेको हो । साथै, १० ग्रामका गणेश–लक्ष्मी अंकित चाँदीका सिक्का पनि बिक्री गरिनेछ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार, यस वर्ष सुनका असर्फी समेत बिक्री गर्ने उद्देश्यले राष्ट्र बैंकले सुनका असर्फी टकमरी गरिरहेको छ ।
राष्ट्र बैंकका अनुसार सुन अभावका कारण पछिल्ला दुई वर्ष असर्फी टकमरी हुन सकेको थिएन । यस वर्ष भने वाणिज्य बैंकबाट सुन खरिद गरी असर्फी तयार पारिएको छ ।
यसअघि राष्ट्र बैंकले सरकारको मातहतमा आएको सुन खरिद गरी असर्फी बनाउँदै आएको थियो । तर, राष्ट्र बैंकसँग रहेको सुनको मौज्दात सकिएपछि पछिल्ला दुई वर्ष असर्फी बिक्री रोकिएको थियो ।
राष्ट्र बैंकले दसैंअघि नै वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरेर असर्फी टकमरी गरिरहेको हो । नेपालमा वाणिज्य बैंकहरूले मात्रै सुन आयात गर्न पाउँछन् । यसपटक भने बजारबाटै सुन खरिद गरेर भए पनि धनतेरसमा असर्फी उपलब्ध गराउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।
हाल भन्सार तथा अन्य निकायबाट बरामद भएका सुन तथा पहेँलो धातु राष्ट्र बैंकको संरक्षणमा रहे पनि ती विषयमा अदालतमा मुद्दा चलिरहेकाले राष्ट्र बैंकले उक्त सुन खरिद गर्न सकेको छैन ।
वाणिज्य बैंकबाट खरिद गरेको सुनमा भने राष्ट्र बैंकलाई केही नोक्सान समेत हुन सक्छ । जफत भएर सरकार मातहत आएका सुन राष्ट्र बैंकले किन्दा किन्ने दिनको अन्तराष्ट्रिय मूल्यमा थप ५ प्रतिशत तिरेर किन्ने गर्थ्यो । अहिले वाणिज्य बैंकहरूले ल्याउने सुनमा भने अन्तराष्ट्रिय मूल्यबाहेक अतिरिक्त २० प्रतिशतभन्सार शुल्क समेत तिर्नुपर्ने भएकोले महँगो पर्ने भएको हो ।
राष्ट्र बैंकले यही बिहीबार र शुक्रबारबाट सुनका असर्फी र चाँदीका गणेश र लक्ष्मीको चित्र अंकित सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले बिक्री गर्ने दिनकै अन्तराष्ट्रिय मूल्यका आधारमा असर्फी र चाँदीका सिक्काको मूल्य तोक्ने गर्छ ।
सुनको पछिल्लो बजार मूल्यका आधारमा २.५ ग्रामको असर्फीको मूल्य करिब ६० हजारदेखि ७० हजार रुपैयाँसम्म पर्न सक्ने अनुमान गरिएको छ । त्यस्तै, चाँदीका सिक्का ४ हजार रूपैयाँभन्दा केही बढी मूल्य पर्नसक्ने राष्ट्र बैंकको भनाइ छ ।


