Banijya News

अर्थतन्त्रका सूचकमा सुधार तर महँगीको दबाब उच्च, मुद्रास्फीति ६.३७ प्रतिशत

1
1.0K Shares

मुलुकका बाह्य तथा वित्तीय सूचकमा सुधार देखिए पनि बजारमा महँगीको दबाब भने उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन–असोज) को आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको हो ।

राष्ट्र बैंकका अनुसार २०८३ असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.४७ प्रतिशत मात्रै थियो । यसले पछिल्लो एक वर्षमा उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धिको चाप तीव्र बनेको देखाउँछ । समग्र अर्थतन्त्रका केही सूचक सकारात्मक रहे पनि बढ्दो महँगीले सर्वसाधारणको क्रयशक्तिमा दबाब सिर्जना गर्ने देखिएको छ ।

समीक्षा अवधिमा मुलुकको वैदेशिक व्यापारमा पनि उल्लेख्य विस्तार भएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल वस्तु आयात ३८.२ प्रतिशतले बढेर ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात १९.८ प्रतिशतले बढेको थियो ।

यसैगरी कुल वस्तु निर्यात ५७ प्रतिशतले वृद्धि भई १ खर्ब १४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । यद्यपि अघिल्लो वर्षको सोही अवधिमा निर्यात वृद्धिदर ८९.६ प्रतिशत थियो । आयातको तुलनामा निर्यातको आकार निकै कम रहेकाले व्यापार घाटा थप फराकिलो बनेको छ । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ३४.७ प्रतिशतले वृद्धि भई ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १२.२ प्रतिशतले मात्रै बढेको थियो ।

अर्कोतर्फ, चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन् । समीक्षा अवधिमा चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत २ खर्ब ३८ अर्ब रुपैयाँ थियो ।

त्यस्तै, शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँ थियो ।

विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विप्रेषण आप्रवाहमा पनि सुधार देखिएको छ । चालु आर्थिक वर्षको तीन महिनामा विप्रेषण २७.२ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो । असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको असोजमा यस्तो रकम २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ थियो ।

विदेशी विनिमय सञ्चितिमा समेत वृद्धि भएको छ । २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति असोज मसान्तमा ६.८ प्रतिशतले बढेर ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २७ अर्ब ३९ करोड पुगेको छ । उक्त सञ्चितिले चालु आर्थिक वर्षको तीन महिनाको आयातलाई आधार मान्दा १९.९ महिनाको वस्तु तथा १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।

सरकारको वित्तीय गतिविधितर्फ समीक्षा अवधिमा कुल खर्च ३ खर्ब ९६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ भने राजस्व परिचालन २ खर्ब ९८ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । विस्तृत मुद्राप्रदाय समीक्षा अवधिमा ४.४ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो वृद्धिदर १४.८ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालनमा २.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जामा ३.१ प्रतिशतको वृद्धि देखिएको छ । वार्षिक विन्दुगत आधारमा निक्षेप १३.७ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले बढेको छ ।

ब्याजदर भने तुलनात्मक रूपमा न्यून रहेको छ । बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १.०१ प्रतिशत रहेको छ । त्यस्तै, वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.०७ प्रतिशत र कर्जाको ब्याजदर ६.३१ प्रतिशत कायम भएको छ ।

समग्रमा बाह्य क्षेत्रको सुदृढ अवस्था, विप्रेषण र विदेशी विनिमय सञ्चितिमा भएको वृद्धि तथा चालु खाता र शोधनान्तर बचतले अर्थतन्त्रमा सकारात्मक संकेत देखाएका छन् । तर, आयात र व्यापार घाटाको उच्च वृद्धि तथा मुद्रास्फीतिमा देखिएको तीव्र बढोत्तरीले अर्थतन्त्रको आन्तरिक पक्षमा चुनौती कायमै रहेको संकेत गरेको छ ।

1

Scroll to Top