Banijya News

बालेन र मोदीद्वारा जनकपुर–अयोध्या रेल सेवाको संयुक्त उद्घाटन

1
1.0K Shares

नेपाल र भारतका दुई महत्वपूर्ण धार्मिक नगरी जनकपुरधाम र अयोध्याबीच सिधा रेल सेवा सञ्चालनमा आएको छ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा विशेष रेल सेवाको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री शाहको औपचारिक भारत भ्रमणका क्रममा सुरु गरिएको यो रेल सेवाले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवद्र्धनसँगै सीमापार आवागमन थप सहज बनाउने अपेक्षा गरिएको छ ।

दुवै प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि भारतको अयोध्याबाट जनकपुरधामका लागि रेल प्रस्थान गर्ने कार्यक्रम छ । अयोध्या रेलवे स्टेसनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतीय रेलवेका उच्च अधिकारीहरूले रेललाई बिदाइ गर्नेछन् ।

भारतीय रेलवेले स्वीकृति दिएको नयाँ रेल सेवाले जनकपुरधाम र उत्तर प्रदेशको अयोध्या क्यान्टलाई सिधा जोड्नेछ । करिब ६०४ किलोमिटर लामो यस रुटमा सातामा एकपटक दुवैतर्फ रेल सञ्चालन हुनेछ ।

रेलवे बोर्डले तय गरेको तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १ बजेर १० मिनेटमा जनकपुरधामबाट छुट्ने रेल आइतबार बिहान ८ बजेर १० मिनेटमा अयोध्या क्यान्ट पुग्नेछ ।

त्यस्तै, प्रत्येक सोमबार साँझ ५ बजेर ५० मिनेटमा अयोध्या क्यान्टबाट रेल जनकपुरधामका लागि प्रस्थान गर्नेछ ।

यो रेल जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धामलगायतका स्टेसनमा रोकिनेछ ।

यसअघि भारतीय रेल नेपाली भूमिमा प्रवेश गर्दा सुरक्षा व्यवस्थापन कसले गर्ने भन्ने विषयमा दुई देशबीच लामो छलफल भएको थियो । नेपालले आफ्नो भूभागमा नेपाली सुरक्षाकर्मी परिचालन हुनुपर्ने अडान राखेको थियो भने भारतीय पक्षले रेलसँगै आफ्ना सुरक्षाकर्मी रहने प्रस्ताव गरेको थियो ।

जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनलाई दुई देशबीच धार्मिक पर्यटन विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई सिधा रेलमार्गले जोड्दा रामायण सर्किटअन्तर्गतको पर्यटन गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।

जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर र विवाहमण्डप तथा अयोध्याको राम मन्दिरमा दर्शन गर्न जाने श्रद्धालुलाई यसले थप सहज बनाउनेछ । विशेषगरी विवाहपञ्चमीका अवसरमा अयोध्या र जनकपुरधामबीच हुने धार्मिक आवागमनलाई यो रेल सेवाले थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालनमा छ । नयाँ सिधा रेल सेवा सुरु भएसँगै नेपाल र भारतबीचको रेल सम्पर्क थप विस्तार भएको छ ।

1

Scroll to Top