सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न दुई जलविद्युत् कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् । आईपीओ निष्कासनका लागि मिडिल मोदी हाइड्रोपावर र सिद्धि हाइड्रोपावर रहेका छन् ।
मिडिल मोदी हाइड्रोपावरले ३० लाख ७७ हजार कित्ता सेयर निष्कासनको अनुमति मागेको छ । कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट क्यापिटल रहेको छ ।
त्यस्तै, सिद्धि हाइड्रोपावरले ५० लाख कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको छ । यसको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । कम्पनीले इलाममा १० मेगावाट क्षमताको सिद्धिखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिसकिएको छ । दुवै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सेयर निष्कासन गर्ने प्रस्ताव गरेका छन् ।
बोर्डबाट स्वीकृति पाएपछि यी कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्नेछन् । त्यसपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाउनेछन् ।


