स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब उपचार सेवा लिन अस्पताल जाँदा स्वास्थ्य बीमाको सक्कली परिचयपत्र अनिवार्य रूपमा बोक्नुपर्ने बाध्यता हटेको छ । स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्ड वा परिचयपत्रको स्पष्ट विवरण देखिने फोटोकपीका आधारमा समेत बीमाअन्तर्गतको उपचार सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।
बोर्डले बुधबार देशभरका स्वास्थ्य बीमा सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गर्दै भौतिक परिचयपत्र साथमा नभएकै कारण कुनै पनि बीमित नागरिकलाई उपचार सेवाबाट वञ्चित नगर्न निर्देशन दिएको हो ।
यसअघि स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध व्यक्तिले उपचार सेवा लिन अस्पतालमा अनिवार्य रूपमा भौतिक परिचयपत्र प्रस्तुत गर्नुपर्ने व्यवस्था थियो । यसका कारण परिचयपत्र हराएका, घरमै छुटेका वा अन्य कारणले साथमा बोक्न नसकेका सेवाग्राहीले उपचार सेवा लिन समस्या भोग्दै आएका थिए ।
बोर्डको नयाँ व्यवस्थाअनुसार अब बीमितले सक्कली परिचयपत्र, डिजिटल कार्ड वा परिचयपत्रमा उल्लेखित विवरण स्पष्ट देखिने फोटोकपीमध्ये कुनै एक प्रस्तुत गरेर उपचार सेवा लिन सक्नेछन् ।
यद्यपि, डिजिटल कार्ड वा फोटोकपीकै आधारमा स्वतः उपचार सेवा उपलब्ध हुने भने होइन । सेवा प्रदायक स्वास्थ्य संस्थाले सम्बन्धित व्यक्तिको स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा भिडान गरी बीमामा आबद्ध रहेको यकिन गर्नुपर्नेछ । प्रणालीबाट विवरण प्रमाणीकरण भएपछि मात्रै बीमा कार्यक्रमअन्तर्गतको उपचार सेवा उपलब्ध गराउनुपर्ने बोर्डले जनाएको छ ।
स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवनकुमार शाहले नयाँ व्यवस्थाले परिचयपत्र नभएकै कारण सेवाग्राही अस्पतालबाट फर्किनुपर्ने अवस्थाको अन्त्य गर्ने बताए । उनका अनुसार यसले बीमित नागरिकलाई स्वास्थ्य सेवा प्राप्त गर्न थप सहज बनाउनेछ ।
नयाँ व्यवस्थाबाट विशेषगरी भौतिक कार्ड हराएका, बिग्रिएका वा घरमै छुटाएका नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ । साथै, डिजिटल माध्यमबाट परिचय खुलाएर स्वास्थ्य सेवा लिन सकिने भएपछि स्वास्थ्य बीमा सेवालाई थप सहज र सेवाग्राहीमैत्री बनाउन सहयोग पुग्ने विश्वास बोर्डको छ ।


