बीवाइडी लाइनअपको सबैभन्दा सानो कार सिगल राइट ह्याण्ड ड्राइभमा लन्च भएको छ । कम्पनीले बुधबारदेखि सुरू भएको ‘गाइकिन्डो इन्डोनेशिया इन्टरनेशनल अटोशो २०२५’ सिगलको राइटह्याण्ड ड्राइभ भेरियन्ट ‘एटो वान’ सार्वजनिक गरेको हो ।
बीवाइडीले सिगलको राइटह्याण्ड ड्राइभ ‘एटो वान’ नाममा सार्वजनिक गरेको हो । बीवाइडीको पोर्टफोलियोमा सबैभन्दा धेरै बिक्री हुने यो कार अन्तर्राष्ट्रिय बजारमा डल्फिन मिनी र डल्फिन सर्फको नाममा बिक्री भइरहेको छ ।
इन्डोनेशियामा राइटह्याण्ड ड्राइभ लन्च भएसँगै अब नेपालमा पनि चाँडै आउने छ । नेपालका लागि बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंक स्रोतका अनुसार याे कार आगामी भदौ ३ गतेदेखि सुरू हुने नाडा अटो शोमा सार्वजनिक हुनेछ । नेपाली बजारमा भने यो कार सिगलकै नामबाट लन्च हुने कम्पनी स्रोतले जनाएको छ ।
इन्डोनेशियमा एटो १ स्ट्याण्डर्ड रेन्ज डाइनामिक र लङ रेन्ज प्रिमियम गरी दुई भेरियन्टमा लन्च भएको छ । यो कारको स्ट्याण्डर्डमा ३०.०८ किलोवाट अवार र प्रिमियममा ३८.८८ किलोवाट अवारको ब्याट्रीप्याकको अप्सन रहेको छ । यी दुई भेरियन्टको रेन्ज क्रमशः ३०० र ३८० किलोमिटरको हुने एनईडीसीले प्रमाणित गरेको छ ।
इन्ट्री लेबल ह्याचब्याक साइजको यो कार नेपाली बजारमा धेरै समयदेखि प्रतिक्षा गरिएको मोडल हो । सिगलको लम्बाइ ३७८० एमएम, चौडाइ १७१५ एमएम, उचाइ १५८० एमएम र ह्वीलबेस २५०० एमएम रहेको छ ।


