नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन(नाइमा) ले यही साउन २१ देखि आयोजना गर्न लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा ३५ वटा नयाँ सवारीसाधन सार्वजनिक हुने भएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नाइमाले प्रदर्शनीमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्गे्र र पाँच वटा कमर्सियल गाडीहरु सार्वजनिक हुने जानकारी दिएको हो ।
अटो एक्स्पो समितिका सदस्य गौरव सारडाले एक्स्पोको विशेषता, लक्ष्य तथा दृष्टिकोणबारे जानकारी दिँदै सबै तयारी पूरा भएको बताए । त्यस्तै, अटो एक्स्पो समिति प्रमुख शिरीष कुमार मुरारकाले यसपटकको एक्स्पो राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने जानकारी दिँदै त्यहाँको भौतिक पूर्वाधारमा गरिएको सुधार विशेषतः जल निकासीे, अपाङ्गमैत्री पूर्वाधारजस्ता व्यवस्था उल्लेखनीय रहेको बताए ।
एक्स्पोमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने, विद्युतीय सवारीसाधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिनेछ । एक्स्पोको मूख्य प्रायोजक एभरेस्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक विष्णु प्रसाद ज्ञवाली र नेसनल इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नभनित गुप्ताले एक्स्पोसँगको सहकार्यप्रति गर्व व्यक्त गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा सँगै काम गर्ने प्रतिबद्धता जनाए ।
एभरेस्ट बैंक र नेसनल इन्स्योरेन्स प्रमुख प्रायोजक रहेको प्रदर्शनीमा टिकेटिङ पार्टनरको रुपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउन्टेन ड्यु, राइड पार्टनरमा पठाओ, सर्बिलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वर्ल्ड लिङ्ग, हस्पिट्यालिटी पार्टनरमा सोल्टी होटल, मेडिकल पार्टनरमा फ्रन्टलाइन हस्पिटल, टेलिकम पार्टनरमा एन्सेल र म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् ।
प्रदर्शनीका आगन्तुकहरुलाई प्रायोजक कम्पनीहरुले पनि विशेष प्रावधानको व्यवस्था गरेको बताएइको छ । राइड पार्टनर पठाओले प्रदर्शनलाई लक्षित गरेर भृकुटीमण्डप गन्तव्य भएका राइडहरुमा ३० प्रतिशतसम्मको छुट दिने र मेडिकल पार्टनर फ्रन्टलाइन हस्पिटलले प्रदर्शनीस्थलमा चौबिसै घण्टा एम्बुलेन्स व्यवस्थापनसहित आकस्मिक तथा सामान्य चिकित्सा सेवा प्रदान गर्ने बताइएको छ ।


