‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आगामी बिहीबार देखि सुरु हुँदै छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले काठमाडौँको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्न लागेको हो ।
नाइमाले एक्स्पोको तयारीका लागि स्टलहरू बनाउने काम थालनी गरेको छ । नाइमाले एक्स्पोको स्टल संरचना व्यवस्थित हुने बताएको छ । त्यही अनुसार शुक्रबारदेखि स्टल बनाउने काम सुरु भएको हो ।
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारीसाधन नाइमा नेपाल मोबिलिटी एक्स्पोमा लञ्च गर्ने तयारीमा गरिएको छ ।एक्स्पो नजिकिएसँगै विभिन्न कम्पनीहरूले विभिन्न ब्रान्डका सवारीसाधन नाइमा लञ्च गर्ने छन् ।
चारपाङ्ग्रे सवारीतर्फ, लक्ष्मी ई-मोबिलिटीले चीनको विद्युतीय सवारी ब्रान्ड ‘फोर्थिङ’ को प्रिमियम इलेक्ट्रिक एसयूभी लन्च गर्ने भएको छ। त्यस्तै, लक्ष्मी ग्रुपअन्तर्गतको एलएक्सजी मोटर्सले ‘क्यारी’ ब्रान्डका दुई इलेक्ट्रिक भ्यान – केभान १ र केभान २ नेपाली बजारमा ल्याउनेछ। एस क्युब इन्टरप्राइजेजले हेनरी भोल्टसको सी-प्रो मोडल प्रदर्शनमा राख्दा नेक्सन भेन्चरले एलएस अटोका ‘एलईभी ०५’ र ‘एलईभी एक्स’ दुई नयाँ मोडल सार्वजनिक गर्नेछ।
महिन्द्राका आधिकारिक वितरक अग्नि इनर्जीले महिन्द्राका दुई गाडी बीई–६ र एक्सईभी–९ई प्रदर्शनमा राख्नेछन्। यसैगरी, हिमालय मोट्रक्सले म्याक्सस ब्रान्डको विद्युतीय एमपीभी मिफा–७ लन्च गर्नेछ। एक्स्पोमा लिपमोटरको इलेक्ट्रिक एसयूभी ‘बी १०’ र एसपीजी अटोमोबाइल्सले ल्याएको विद्युतीय एसयूभी ‘जेइको जे–५’ पनि देख्न पाइनेछ।
दुईपाङ्ग्रे सवारीतर्फ पनि केही कम्पनीले नयाँ स्कुटर र मोटरसाइकल लन्च गर्ने तयारी गरेका छन्। एथरको आधिकारिक वितरक वैद्य इनर्जीले नयाँ फ्यामिली स्कुटर ‘एथर रिज्टा’ सार्वजनिक गर्ने भएको छ। त्यस्तै, केटीएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले केटीएम मोटरसाइकलको नयाँ अपडेटेड भर्सन बजारमा ल्याउनेछ।
नाइमाका अनुसार यस एक्स्पोमा दुईपाङ्ग्रेतर्फ होन्डा, सुजुकी, बजाज, केटीएम, रोयल इन्फिल्ड लगायतका ब्रान्डहरू पनि सहभागी हुनेछन्। एक्स्पोमा चारपाङ्ग्रेतर्फ बीवाइडी, एमजी, हुन्डाई, टोयोटा लगायतका ब्रान्ड पनि देख्न पाइनेछ। नाइमाले एक्स्पो निकै व्यवस्थित र सहज हुने दाबी गरेको छ। राइड पार्टनर पठाओले भृकुटीमण्डप गन्तव्य भएका राइडहरूमा ३० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।


