Banijya News

नाइमा मोबिलिटी एक्स्पोमा गाडी किन्न कर्जा दिँदै एभरेष्ट बैंक, कति पर्छ ब्याज ?

1
1.1K Shares

भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा गाडी किन्न चाहानेहरुलाई एभरेष्ट बैंकले कर्जा दिने भएको छ । एक्स्पोमा एभरेष्ट बैंकले एउटा स्टल नै राखेर ‘विशेष गाडी कर्जा योजना’ अघि सारेको हो ।

बैंकका अनुसार एक्स्पोमा गाडी किन्ने ग्राहकलाई एभरेष्ट बैंकले ६.५२ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । गाडी खरिद गर्न चाहने ग्राहकको लागि बैंकले बेसरेटमा १.२५ प्रतिशत प्रिमियम थपेर कर्जा दिने भएको जनाएको छ । हाल यस बैंकको बेसरेट ५.२७ प्रतिशत छ ।

एभरेष्ट बैंकले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई यस योजना अन्तर्गत कार, भ्यान, जिप, तथा स्पोट्र्स युटिलिटी भेइकल (एसयूभी) जस्ता निजी प्रयोगका सवारी खरिद गर्न कर्जा दिनेछ ।

कर्जाका लागि योग्य हुन ऋणी, निजको श्रीमान वा श्रीमती वा एकाघर परिवारका सदस्यहरूको कुल मासिक आम्दानी (स्वरोजगार, तलब, व्यवसाय तथा अन्य) मासिक किस्ता रकमको कम्तीमा दुई गुणा हुनुपर्नेछ । साथै, ऋणीको उमेर ६५ वर्षभन्दा बढी हुन नहुने प्रावधान तोकिएको छ ।

ग्राहकको आवश्यकता अनुसार खुद मासिक आम्दानीको ३० गुणासम्म कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । कर्जा भुक्तानीका लागि बैंकले बढीमा ७ वर्षसम्मको समयावधि प्रदान गर्नेछ ।

बैंकले प्राकृतिक व्यक्तिको निजी प्रयोजनका लागि गाडीको खरिद मूल्यको कम्तीमा ४० प्रतिशतसम्म र विद्युतीय सवारी साधनको हकमा पनि खरिद मूल्यको ४० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने जानकारी दिएको छ ।

कर्जा स्वीकृतिका लागि बैंकले केही आवश्यक कागजातहरू अनिवार्य गरेको छ । सम्पत्ति सम्बन्धी कागजातहरूमा तलबको प्रमाणपत्र, तलब खाताको बैंक स्टेटमेन्ट, फर्म रजिस्ट्रेसन र प्यानरभ्याट प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, र कम्तीमा ६ महिनाको बैंक कारोबार विवरण समावेश छन् । २५ लाख रुपैयाँभन्दा माथिको गाडी कर्जाका लागि व्यक्तिगत प्यान प्रमाणपत्र आवश्यक पर्नेछ ।

त्यसैगरी, अन्य कागजातहरूमा ऋणी र जमानी बस्नेको नागरिकता, राष्ट्रिय परिचय पत्र, गाडीको कोटेसन, फोटो, र विगत ६ महिनाको बैंक खाता विवरण बुझाउनुपर्नेछ । बैंकले आवश्यक ठानेमा अन्य थप कागजातहरू पनि माग गर्न सक्नेछ ।

बैंकको नियम अनुसार तेस्रो पक्षसहितको बीमा अनिवार्य गरिएको छ । यस बैंकको गाडी कर्जा सेवा नाइमा एक्स्पोभर अर्थात् साउन २५ गतेसम्म उपलब्ध हुने बैंकले जनाएको छ ।

1

Scroll to Top