Banijya News

पाँच दिनमा डेढ लाखले गरे नाडा अटोशो अवलोकन

1
1.6K Shares

नाडा अटो शो २०२५ ले ऐतिहासिक उपलब्धि हासिल गरेको छ । पाँच दिनमै एक लाख ४९ हजार ८८१ जनाले यसको अवलोकन गरिसकेका छन् । यो तथ्यांकले आमनागरिक नवीन प्रविधि र यो अटो शोप्रति धेरै चासो र जिज्ञासा राख्छन् भन्ने प्रस्ट भएको नाडाको भनाइ छ ।

नाडा अटो शोको पाँचौँ दिनमा देशका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूले अवलोकन गरे । शनिबार (भदौ ७) मुख्यसचिव एकनारायण अर्याल, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडाल, सिजी होल्डिङस्का अध्यक्ष अरुणकुमार चौधरी र कलाकार सन्दीप क्षेत्रीले नाडा अटो शो २०२५ को अवलोकन गरे ।

प्रदर्शनीका अवसरमा नाडाले हरेक दिन विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ । यसैक्रममा शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीको उपस्थितिमा सडक र यातायात विषयमा अन्तरक्रिया कार्यक्रम गरियो । शनिबारै नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीको उपस्थितिमा ‘मेड इन नेपाल’ विषयमा पनि अन्तरक्रिया गरियो ।

“नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका यी उपलब्धिहरूलाई एउटा शुभारम्भको रूपमा लिएको छु । यसले हाम्रो अपेक्षामा अझ वृद्धि भएको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ,” अध्यक्ष करण चौधरीले भने ।

1

Scroll to Top