Banijya News

प्रिमियम फिचरसहितको ‘एमजी–एस६’ बजारमा, कस्तो छ नयाँ मोडल ?

1
1.0K Shares

नेपालमा विद्युतीय सवारी साधन (ईभी) को लोकप्रियता बढिरहेका बेला प्रतिष्ठित अटोमोबाइल ब्रान्ड एमजीले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘एमजी–एस६’ नेपाली बजारमा भित्र्याएको छ ।

नेपालका लागि एमजीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले वैशाख २८ गते एक विशेष कार्यक्रमका बीच यो अत्याधुनिक गाडी सार्वजनिक गरेको हो ।

गत वर्ष बजारमा आएको एमजी–एस५ को सफलतापछि कम्पनीले अझ बढी पावर, ठूलो साइज र आधुनिक प्रविधिले सुसज्जित यो नयाँ मोडल ल्याएको हो ।

विशेषगरी प्रिमियम फिचर र लामो दूरीको यात्रा तय गर्न चाहने परिवारहरूलाई लक्षित गरी निर्माण गरिएको यो एसयूभीले नेपाली इलेक्ट्रिक बजारमा नयाँ तरङ्ग ल्याउने अपेक्षा गरिएको छ ।

यसको औपचारिक सार्वजनिक भएलगत्तै नेपालभर रहेका एमजीका १४ वटा शोरुमहरूबाट यसको बुकिङ र बिक्री वितरण सुरु हुनेछ । आधुनिक डिजाइन र उत्कृष्ट रेन्जका कारण यो गाडी नेपाली ग्राहकका लागि एउटा भरपर्दो र आकर्षक विकल्प बन्न सक्ने विश्वास छ ।
एमजी–एस६ मा १८० किलोवाटको मोटर र ७७ किलोवाट आवरको ठूलो ब्याट्री प्याक जडान गरिएको छ । यसले एक पटकको फूल चार्जमा ५२९ किलोमिटरसम्मको रेन्ज (डब्लुएलटीपी प्रमाणित) प्रदान गर्ने क्षमता राख्छ । यसमा रहेको रियर ह्विल ड्राइभले २४४ हर्सपावर र ३५० एनएम टर्क उत्पन्न गर्छ, जसले गर्दा पहाडी बाटोहरूमा पनि यसको प्रदर्शन उत्कृष्ट रहनेछ । साथै, १४४ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने भएकाले यो गाडीलाई छिटो चार्ज गरेर लामो यात्रामा निस्कन सहज हुनेछ ।

४ हजार ७०८ एमएम लम्बाइ र २ हजार ८३५ एमएम ह्विलबेस भएको यो एसयूभी विश्व बजारमा टेस्ला मोडल वाईको प्रतिस्पर्धी मानिन्छ । नेपालको सडक सुहाउँदो यसको ग्राउन्ड क्लियरेन्स करिब १९० एमएम रहेको छ ।

गाडीको बाहिरी बनावट जति सुन्दर र आक्रामक छ, भित्री भाग त्यति नै आरामदायी र विलासी छ । भित्री भागमा १२.८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले र ११ वटा स्पिकरको अडियो सिस्टम जडान गरिएको छ । साथै, यसमा ६७४ लिटरको ठूलो बुट स्पेस रहेकाले पछाडिका सिटहरू फोल्ड गरेर १,९१० लिटरसम्म बढाउन सकिन्छ ।

कम्पनीले उक्त गाडीको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ राखेको छ ।

1

Scroll to Top