सरकारले नयाँ ट्याक्सीको दर्ता प्रक्रिया नखोल्दा सीमित ट्याक्सी व्यवसायीको एकाधिकारलाई संरक्षण गर्दै आइरहेको आरोप खेप्ने गरेको छ । सीमित व्यवसायीहरुको यो एकाधिकार तोड्दै सरकारले नयाँ ट्याक्सी दर्ता खुलाउने तयारी गरेको छ ।
नयाँ ट्याक्सी दर्ता लामो समयदेखि बन्द रहेकोमा यसपटक सरकारले जेनजी आन्दोलनका घाइते परिवार र सुकुम्बासीहरूलाई प्राथमिकता दिने उद्देश्यका साथ दर्ता पुनः खुलाउने भएको हो । सुकुम्बासी बस्तीमा डोजर चलाइएपछि उनीहरूको पुनर्स्थापना र व्यवस्थापनका लागि सरकारले यो कदम चाल्न लागेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनसार, जेनजी आन्दोलनका घाइतेहरूलाई सहयोग गर्ने विकल्पका रूपमा पनि यसलाई हेरिएको छ । अहिले मन्त्रालयले कुन ठाउँमा कति ट्याक्सी आवश्यक छ भनी अध्ययन गरिरहेको बताइन्छ ।
नयाँ दर्ता खुला गरेर २० वर्ष पुराना ट्याक्सीहरूको नम्बर खारेज गर्ने सरकारको रणनीति छ । यसबाट ट्याक्सी व्यवसायमा रहेको सीमित व्यवसायीहरूको सिन्डिकेट तोडिने विश्वास गरिएको छ ।
२०५७ सालमा करिब ७ हजार ५०० ट्याक्सी दर्ता भएका थिए । यसपछि २०७२ को भूकम्पपछि थप १ हजार ५ सय ट्याक्सी दर्ता गरिएको थियो । सरकारले २०७६ मा पनि ट्याक्सीको दर्ता खुलाउने तयारी गरेपछि व्यवसायीको दबाबमा स्थगित भएको थियो ।
काठमाडौंमा नयाँ ट्याक्सी दर्ता रोकिँदा सरकारी दस्तुरभन्दा ३ हजार गुणा बढी मूल्यमा नम्बर प्लेटको अवैध किनबेच भइरहेको बताइन्छ । ट्याक्सी दर्ता प्रक्रियामा ५ सयदेखि १ हजार रुपैयाँ सरकारी दस्तुर लाग्ने नम्बर प्लेटको अवैध कारोबार हुँदा १५ लाख रुपैयाँसम्म पुगेको पाइएको छ ।
सरकारको नियम अनुसार २० वर्ष पुगेका ट्याक्सीहरू अनिवार्य रूपमा विस्थापन गर्नुपर्छ । तर, गाडी कवाडमा फाले पनि त्यसको नम्बर प्लेट वा दर्ता हक भने व्यवसायीसँगै रहन्छ । नयाँ दर्ता नखुल्ने हुनाले नयाँ ट्याक्सी चलाउन चाहनेले पुरानो व्यवसायीबाट त्यही नम्बर प्लेट मोटो रकम तिरेर किन्नुपर्ने बाध्यता छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार, २०७२ सालमा सरकारले अन्तिम पटक नयाँ ट्याक्सीको दर्ता खोल्दा आवेदन फारमको दस्तुर मात्र ५०० देखि १ हजार रुपैयाँ हाराहारी थियो । तर, विगत ९ वर्षदेखि सरकारले नयाँ दर्ता पूर्ण रूपमा बन्द गरेको छ । नयाँ नम्बर प्लेट नपाइने भएपछि पुरानो प्लेटको माग ह्वात्तै बढेको हो ।
हाल काठमाडौँ उपत्यकामा करिब १२ हजारको हाराहारीमा ट्याक्सी सञ्चालनमा छन् । २०७२ सालमा ट्याक्सी थप्दा प्रत्येक १०–१० वर्षमा पुनरवलोकन गर्ने भनिएपनि हालसम्म त्यसो हुन सकेको छैन ।


