Banijya News

सवारीसाधन तथा पार्टपुर्जा आयातमा दश महिनामै बाहिरियो ३१ अर्ब

1
1.0K Shares

चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा वीरगञ्ज नाकामार्फत सवारीसाधन तथा तिनका पार्टपुर्जा आयातका लागि ३१ अर्ब ३१ करोड रुपैयाँ बाहिरिएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ अर्ब ६५ करोड रुपैयाँले बढी हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार सवारीसाधन तथा अटो पाट्र्सको आयातमा उल्लेखनीय वृद्धि भएसँगै राजस्व संकलनमा पनि सकारात्मक प्रभाव परेको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा यस क्षेत्रबाट २० अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो राजस्व १६ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो ।

भन्सार तथ्यांकअनुसार समीक्षा अवधिमा विभिन्न प्रकारका सवारीसाधन आयातबाट मात्रै १ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसबाट सरकारले ३ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । त्यस्तै, सोही अवधिमा ७ अर्ब ३२ करोड रुपैयाँ मूल्य बराबरका ५१ हजार ४२३ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् । यी मोटरसाइकलको आयातबाट ठूलो परिमाणमा राजस्व प्राप्त भएको भन्सार कार्यालयले जनाएको छ ।

व्यवसायीहरुका अनुसार, आर्थिक गतिविधिमा आएको सुधार, बैंकिङ प्रणालीमा तरलता सहज हुनुका साथै सवारीसाधनको माग बढेकाले आयातमा वृद्धि भएको हो । पछिल्लो समय दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनको बिक्रीमा देखिएको सुधारले आयात तथा राजस्व दुवैमा सकारात्मक प्रभाव परेको देखिएको छ ।

1

Scroll to Top