नेपालमा विद्युतीय गाडी (इभी) ओमोडा ई–५ प्रो सार्वजनिक गरिएको छ । ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले आइतबार ओमोडा ई–५ प्रो सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार नेपालमा यसअघि नै ओमोडा ई–५ का १५ सयभन्दा बढी युनिट गाडी गुडिसकेका छन् । सार्वजनिक गरिएको नयाँ मोडेलले अझ उन्नत प्रविधि, प्रिमियम फिचर अत्याधुनिक ड्राइभिङको अनुभव दिने दाबी गरिएको छ । फ्युचरिस्टिक डिजाइन, उत्कृष्ट रेन्ज, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक प्रविधिका कारण ओमोडा इभी लोकप्रिय इलेक्ट्रिक एसयुभीमध्ये एक बन्न सफल भएको कम्पनीको दाबी छ ।
नयाँ डिजाइन ई–५ प्रोले स्मार्ट फिचरसहित ग्राहकलाई प्रिमियम अनुभव दिने बताइएको छ । यो मोडेलमा ५०.७ किलोहर्ज ब्याट्री प्याक, ९९ किलोवाट इलेक्ट्रिक मोटर र २८८ एनएम टर्क छ, जसले तीन सय ५० किमिको रेन्ज प्रदान गर्छ । कम्पनीका अनुसार यसमा १८ इन्चका अलोय ह्विल समावेश छन् । यी ह्विलले स्पोर्टी र प्रिमियम अनुभव दिन्छ ।
यसको बाहिरी डिजाइनमा बोल्ड फ्रन्ट फेसिया, एरोडाइनामिक प्रोफाइल र फान्थटोम विङ टेललाइट छन्, जसले सडकमा शक्तिशाली उपस्थिति दिने कम्पनीले दाबी गरेको छ । यस्तै, भित्री भागमा प्रिमिय केबिन अनुभव, इलेक्ट्रिक सनरुफ, उच्च गुणस्तरका इन्टेरियर मटेरियल र आधुनिक प्रविधिको संयोजन रहेको बताइएको छ ।
यसमा चालकका लागि मसाज सुविधा भएको सिट, आठवटा सोनी स्पिकरयुक्त इमर्सिभ अडियो प्रणाली तथा ठूलो पन्ध्र दशमलव छ इन्चको वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले समावेश गरिएको छ, जसले ड्राइभिङ अनुभवलाई अझ प्रिमियम बनाउँछ।
ओमोडा ई–५ प्रो मूल्य सिंगल टोन भेरियन्टको ५१ लाख ५९ हजार र डुअल टोनको ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सार्वजनिक भएको अवसरमा एसपिजीले पहिला ५० ग्राहकलाई ४९ लाख ९९ हजार रुपैयाँमा दिने जनाएको छ । साथै, एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स उपलब्ध गराउने कम्पनीले जनाएको छ ।


