Banijya News

अटोमोबाइल विलासिताको क्षेत्र मात्र नभएर आर्थिक विकासको इन्जिन हो : अध्यक्ष अग्रवाल

1
1.0K Shares

नेपालको अर्थतन्त्रमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्र एक महत्वपूर्ण आधारस्तम्भका रूपमा स्थापित भइसकेको छ । नाइमा अटो शो (नाइमा मोबिलिटी एक्स्पो २०२६) को उद्घाटन समारोहमा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले यस क्षेत्रलाई केवल विलासिता वा उपभोगको क्षेत्रका रूपमा मात्र नहेरी आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष अग्रवालका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा मोबिलिटी क्षेत्रको योगदान करिब सात प्रतिशत रहेको छ । यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १२ लाखभन्दा बढी नागरिकलाई रोजगारी प्रदान गरेको तथ्य प्रस्तुत गर्दै उनले यो क्षेत्र बैंकिङ, बीमा, पर्यटन, निर्माण र सूचना प्रविधिजस्ता विविध क्षेत्रसँग अन्तरसम्बन्धित रहेको उल्लेख गरे ।

अर्थतन्त्रको विद्यमान शिथिलताप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष अग्रवालले सरकारको नियमनकारी नीतिका कारण निजी क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको बताए । अहिलेको अवस्थामा डेढ लाखभन्दा बढी उद्यमी व्यवसायीहरू कालो सूचीमा पर्नु र घरजग्गा, सेयर बजार तथा उत्पादनमूलक उद्योगहरू सुस्ताउनु नीतिगत कमजोरीको परिणाम भएको उनको तर्क छ ।

नेपालको लगानीमा ८१ प्रतिशत हिस्सा निजी क्षेत्रको रहेको बताउँदै उनले भने, ‘कुनै पनि नयाँ नीति वा नियम ल्याउनुअघि त्यसले निजी क्षेत्रमा पार्ने प्रभावको वस्तुगत मूल्यांकन (रेगुलेटरी इम्प्याक्ट एसेसमेन्ट) हुन जरुरी छ ।’ उद्यमी र नागरिकले विगतमा आर्जन गरेको सम्पत्तिको स्रोत देखाउन नसक्दा प्रहरी प्रशासनबाट हुने सोधपुछले बजारमा डर पैदा गरेको छ । यस्ता कानूनी जटिलता र व्यावहारिक अड्चनहरूलाई तत्काल समाधान नगरे आर्थिक विस्तार असम्भव हुने उनले प्रष्ट पारे ।

अध्यक्ष अग्रवालले सम्पत्ति शुद्धीकरण ऐनले व्यवसायी र सर्वसाधारणमा त्रास सिर्जना गरेको विषयलाई प्रमुखताका साथ उठाए । वि.सं. २०६४ भन्दा अगाडि आर्जन गरेको वैधानिक सम्पत्तिको अभिलेखीकरण नभएका कारण हाल सवारी साधन खरिद गर्दा स्रोत खोजिने प्रक्रियाले आर्थिक गतिविधिलाई संकुचित बनाएको उनको तर्क छ ।

विश्व अहिले चौथो औद्योगिक क्रान्तिको युगमा रहेको स्मरण गराउँदै अध्यक्ष अग्रवालले आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स र विद्युतीय सवारी प्रविधिले विश्व अर्थतन्त्रको स्वरूप फेरिरहेको बताए । नाइमा मोबिलिटी एक्स्पोले नेपाललाई यस्ता नवीन प्रविधि आत्मसात् गर्न र भविष्यका लागि तयार रहन सन्देश दिएको उनी बताउँछन् ।

1

Scroll to Top