Banijya News

अटो क्षेत्रलाई राजस्व उठाउने माध्यम र विलासिताको वस्तुका रूपमा हेर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्छ : एफएनसीसीआई अध्यक्ष श्रेष्ठ

1
1.0K Shares

अटोमोबाइल क्षेत्रलाई सरकारले राजस्व उठाउने क्षेत्रका रूपमा मात्र बुझ्न नहुने बताइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अन्जन श्रेष्ठले नाइमा मोबिलिटी एक्सपो २०२६ मा बोल्दै अटो क्षेत्रलाई विलासिताको वस्तुका रूपमा हेर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्ने बताए ।

अटो क्षेत्रलाई राजस्वको रूपमा मात्र बुझ्‌ने काम भएको भन्दै यस वर्षको बजेटमा समेत भन्सार दर परिवर्तन गरेर यसलाई विलासिताको विषय बनाउन खोजेको अध्यक्ष श्रेष्ठले बताए । यो आवश्यकताको क्षेत्र हो भन्ने कुरा सरकारले कहिले बुझ्‌ने ? भन्दै प्रश्न गरेका उनले सरकारले लामो समयदेखि अटो क्षेत्रसँग सम्बन्धित विषयमा छलफल गर्दै आए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए ।

विशेषगरी सडक सुरक्षा र पूर्वाधार सुधारमा सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ छ । २० वर्षअघिको सडकको घनत्व र अहिलेको अवस्था कस्तो छ ? यति धेरै सवारीसाधन बढिसकेका छन् । सरकारले पटक–पटक छलफल गर्ने गरेको छ, तर छलफल छलफलमै सीमित भएको श्रेष्ठले गुनासो गरे ।

उनले सडक सुरक्षाका लागि पर्याप्त जनशक्ति र पूर्वाधार आवश्यक रहेको उल्लेख गर्दै अहिले देशभर करिब ७ हजार ट्राफिक प्रहरी रहेको बताए । बढ्दो सवारी चापअनुसार सडक तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने उनको सुझाव छ ।

सवारी दुर्घटनामा चालक र सवारीसाधनलाई मात्र दोष दिन नहुने पनि श्रेष्ठले बताए । सडकको गुणस्तर र पूर्वाधार पनि दुर्घटनाका महत्वपूर्ण कारण हुन सक्ने भन्दै उनले सडक सुरक्षासँगै सडकको स्तर सुधारमा सरकारले ध्यान दिनुपर्ने बताए ।

यातायातका सवारीसाधन दर्ता रोक्ने सरकारको निर्णयप्रति समेत उनले असन्तुष्टि जनाए । दर्ता रोक्नुको सट्टा सरकारले वैकल्पिक व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘दसैँ–तिहारको समयमा नयाँ सवारीसाधन खरिद गर्ने समय हो । तर, दर्ता रोक्ने काम भइरहेको छ । यो अन्यायपूर्ण निर्णय हो ।’

निजी क्षेत्रले देशमा ठूलो हिस्सा रोजगारी सिर्जना गरेको उल्लेख गर्दै श्रेष्ठले निजी क्षेत्रका उद्योग तथा व्यवसायलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरे । निजी क्षेत्रले ८६ प्रतिशत रोजगारी दिएको छ । त्यसैले, सरकारी उद्योग मात्र होइन, निजी क्षेत्रका उद्योग पनि प्रभावकारी रूपमा सञ्चालन गर्न ध्यान दिनुपर्ने उनले बताए ।

1

Scroll to Top