नाइमा मोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गर्दै बैंकहरूले सवारीसाधन खरिद कर्जामा विशेष ब्याजदर घोषणा गरेका छन् । विद्युतीय सवारीदेखि पेट्रोलियम इन्धनबाट चल्ने सवारीसम्म खरिद गर्न चाहने ग्राहकलाई आकर्षित गर्न ग्लोबल आइएमई, सिद्धार्थ र एनएमबि बैंकले सहुलियतपूर्ण कर्जा योजना ल्याएका हुन् ।
नाइमा एक्स्पोको अवसरमा सिद्धार्थ बैंकले आधार दरमा १ प्रतिशत थप गरी अटो कर्जा उपलब्ध गराउने भएको छ । बैंकको आधार दर ५.०५ प्रतिशत रहेकाले यसअनुसार कर्जाको ब्याजदर करिब ६.०५ प्रतिशत पर्नेछ । बैंकले कर्जा प्रवाह गर्दा ०.५ प्रतिशत प्रशोधन शुल्क लिने जनाएको छ ।
यसैगरी, एनएमबि बैंकले नयाँ विद्युतीय सवारीसाधन खरिदकर्तालाई केन्द्रित गर्दै आधार दरमा ०.५ प्रतिशत थप गरी कर्जा उपलब्ध गराउने विशेष योजना सार्वजनिक गरेको छ । बैंकले वातावरणमैत्री यातायात र दिगो बैंकिङ प्रवद्र्धन गर्ने उद्देश्यले नाइमा अटो एक्स्पोका लागि उक्त कर्जा योजना ल्याएको जनाएको छ ।
एनएमबिका अनुसार सीमित अवधिका लागि ल्याइएको कर्जा सुविधा सरल र छिटो प्रक्रियाबाट उपलब्ध हुनेछ । नयाँ विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकले एक्स्पोमा रहेको बैंकको स्टल नम्बर ०५ वा देशभरका शाखाबाट कर्जाका लागि आवेदन दिन सक्नेछन् ।
त्यस्तै, ग्लोबल आइएमई बैंकले विद्युतीय र पेट्रोलियम इन्धनबाट चल्ने दुवै प्रकारका सवारीसाधन खरिदका लागि ५.२५ प्रतिशतबाट सुरु हुने ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । व्यावसायिक सवारीसाधनका लागि भने बैंकले आधार दरमा ३ प्रतिशत थप गरी कर्जा उपलब्ध गराउने योजना ल्याएको छ ।
नाइमा मोबिलिटी एक्स्पोमा विभिन्न कम्पनीले नयाँ सवारीसाधनसँगै छुट तथा विशेष अफर सार्वजनिक गरिरहेका बेला बैंकहरूबीच पनि सस्तो अटो कर्जा उपलब्ध गराउने प्रतिस्पर्धा देखिएको छ । कम ब्याजदरमा कर्जा उपलब्ध हुँदा एक्स्पो अवधिमा सवारी बुकिङ तथा खरिद गर्न चाहने ग्राहकलाई वित्तीय विकल्प थप सहज हुने देखिएको छ ।


