नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ । स्वर्ण जयन्ती विशेष संस्करणका रूपमा आयोजना हुने प्रदर्शनी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।
सन् १९७५ मा स्थापना भएको नाडाले पाँच दशक पूरा गरेको अवसरमा आयोजना गर्न लागेको यस अटो शोमा नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकास, नयाँ प्रविधि र भविष्यका सम्भावनालाई प्रस्तुत गरिने जनाएको छ । करिब तीन लाख वर्गफिट क्षेत्रमा आयोजना हुने प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन् ।
नाडाका अनुसार, अटो शोमा २३ वटा चारपाङ्ग्रे यात्रुवाहक सवारीसाधनका ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारीसाधनका ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे सवारीसाधनका ब्रान्ड सहभागी हुनेछन् ।
त्यस्तै, पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणसँग सम्बन्धित करिब ७० कम्पनीको सहभागिता रहनेछ । बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका १० वटा स्टलसमेत रहने नाडाले जनाएको छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले स्वर्ण जयन्ती संस्करणको अटो शो केवल सवारीसाधनको प्रदर्शनी नभई पाँच दशकमा नेपाली अटोमोबाइल क्षेत्रले हासिल गरेको विकास र योगदान प्रस्तुत गर्ने अवसर भएको बताए । उनले अटोमोबाइल क्षेत्रलाई रोजगारी, राजस्व, हरित प्रविधि र समग्र आर्थिक गतिविधिसँग जोडेर थप व्यवस्थित रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
प्रदर्शनीमार्फत विद्युतीय सवारीसाधन, नयाँ प्रविधि र आधुनिक मोबिलिटीका विषयमा समेत जानकारी दिइने नाडाले जनाएको छ । पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको छ । हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन नेपाल भित्रिएको र तिनका लागि करिब दुई हजार चार्जिङ स्टेसन निर्माण भइसकेको नाडाको तथ्यांक छ ।
नाडाका अनुसार नेपालमा हालसम्म करिब ५५ लाख सवारीसाधन दर्ता भएका छन् । पछिल्ला पाँच आर्थिक वर्षमा करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारीसाधन तथा सम्बन्धित सामग्री आयात भएका छन् । उक्त आयातबाट सरकारले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको नाडाले जनाएको छ । स्वर्ण जयन्तीका कारण यस वर्षको अटो शो विगतका संस्करणभन्दा थप आकर्षक र विशेष हुने आयोजकको दाबी छ ।


