नेपालको अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधनको उपस्थिति तीव्र रूपमा बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपाल भित्रिएका चारपांग्रे सवारीसाधनमध्ये विद्युतीय गाडीको हिस्सा झन्डै ७० प्रतिशत पुगेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार, साउनमा नेपालमा ६८९ वटा विद्युतीय चारपांग्रे सवारीसाधन आयात भएका छन् । ती सवारी आयातमा १ अर्ब ६१ करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । सरकारले भने विद्युतीय चारपाङ्ग्रे सवारीको आयातबाट १ अर्ब ६ करोड १६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
साउनमा नेपालमा कुल ९८७ वटा चारपाङ्ग्रे सवारी आयात भएका थिए । यसमध्ये ६८९ वटा विद्युतीय रहेकाले कुल चारपाङ्ग्रे सवारी आयातमा विद्युतीय सवारीको हिस्सा ६९ दशमलव ८ प्रतिशत पुगेको हो । अर्थात् नेपाल भित्रिएका चारपाङ्ग्रे सवारीमध्ये झन्डै सातमध्ये पाँचवटा विद्युतीय रहेका छन् ।
विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण बढ्नुमा पेट्रोल तथा डिजेलको मूल्य, इन्धन खर्च, सञ्चालन तथा मर्मतसम्भार लागतलगायतका कारण प्रमुख छन् । परम्परागत इन्धनबाट चल्ने सवारीको तुलनामा विद्युतीय गाडी सञ्चालन खर्च कम हुने भएकाले उपभोक्ताले यसलाई दीर्घकालीन रूपमा किफायती विकल्पका रूपमा लिन थालेका छन् ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट सवारी कर्जासहितका फाइनान्सिङ सुविधा सहज रूपमा उपलब्ध हुनुले पनि विद्युतीय सवारीको माग बढाउन सहयोग गरेको व्यवसायीहरूको बुझाइ छ ।
नेपालमा जलविद्युत् उत्पादन विस्तार हुँदै जानु र सहरी तथा मुख्य राजमार्ग क्षेत्रमा चार्जिङ पूर्वाधार थपिँदै जानुले पनि विद्युतीय सवारीप्रतिको विश्वास बढाएको छ । चार्जिङ स्टेशनको संख्या बढ्दै जाँदा लामो दूरीको यात्रामा समेत विद्युतीय गाडी प्रयोग गर्न सहज हुँदै गएको छ ।
यससँगै नेपालमा विद्युतीय सवारीको बजार विस्तार हुने क्रम आगामी दिनमा अझ तीव्र हुने संकेत देखिएको छ । आयातको बढ्दो हिस्सा र चार्जिङ पूर्वाधारमा भइरहेको विस्तारले नेपाली अटोमोबाइल बजारको स्वरूप क्रमशः विद्युतीय सवारीतर्फ रूपान्तरण भइरहेको देखाएको छ ।


