काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘नाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने प्रदर्शनीका लागि अहिले भृकुटीमण्डपमा स्टल निर्माण तथा प्राविधिक व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको छ ।
प्रदर्शनीमा विभिन्न अटोमोबाइल ब्रान्डका साथै अटो पाट्र्स तथा कम्पोनेन्ट, टायर, ल्युब्रिकेन्ट्स, ब्याट्री, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टल रहनेछन् । प्रदर्शनीमा नयाँ सवारीसाधन, विद्युतीय सवारीसाधन (ईभी), अत्याधुनिक प्रविधि तथा अटोमोबाइल क्षेत्रका विभिन्न उत्पादन र सेवाहरू प्रदर्शन गरिने आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
यस वर्ष नाडाको ५०औँ स्थापना वर्षको अवसरमा स्वर्ण जयन्ती संस्करणका रूपमा अटो शो आयोजना हुँदैछ । आयोजकका अनुसार करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् । यात्रुबाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी हुँदैछन् ।
त्यस्तै, करिब ७० वटा स्टलमा अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरणलगायत सामग्री प्रदर्शन गरिनेछ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको समेत सहभागिता रहनेछ ।
प्रदर्शनी सुरु हुन केही दिन मात्रै बाँकी रहेकाले भृकुटीमण्डपमा विभिन्न ब्रान्डका स्टल निर्माणको काम धमाधम भइरहेको छ । स्टललाई आकर्षक र प्रविधिमैत्री बनाउने कामसँगै विद्युत्, प्रकाश, डिजिटल डिस्प्ले, ब्रान्डिङ तथा अन्य प्राविधिक व्यवस्थापनको कामसमेत समानान्तर रूपमा अघि बढाइएको छ ।
स्वर्ण जयन्ती संस्करण भएकाले यसपटकको प्रदर्शनीलाई विगतका संस्करणभन्दा थप व्यवस्थित, प्रविधिमैत्री र आकर्षक बनाउने तयारी गरिएको आयोजकले जनाएको छ ।
यस संस्करणमा ‘मेड इन नेपाल र मेड फर नेपाल’ नामक पभेलियनसमेत रहनेछ । उक्त पभेलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन, ईभी, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल कम्पोनेन्टको प्रवद्र्धन गरिनेछ ।
नाडा अटो शोले नयाँ सवारीसाधन तथा प्रविधिको प्रदर्शनसँगै उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था र अटोमोबाइल क्षेत्रका अन्य सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क तथा व्यावसायिक अन्तरक्रियाको अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रदर्शनीले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको पछिल्लो अवस्था, बजारमा भित्रिएका नयाँ प्रविधि र भविष्यको गतिशीलताको दिशाबारे एउटै थलोबाट जानकारी लिन अवसर दिनेछ ।


