नागढुङ्गा सुरुङमार्ग निजी सवारीसाधनका लागि खुला गरिएको छ । सोमबारदेखि नौ जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यानलगायत चारपाङ्ग्रे निजी सवारीलाई सुरुङमार्ग हुँदै आवतजावत गर्न अनुमति दिइएको हो ।
करिब एक महिनाअघि उद्घाटन गरिएको सुरुङमार्ग आजदेखि निजी सवारीका लागि निःशुल्क सञ्चालनमा ल्याइएको नागढुङ्गा आयोजनाका डिभिजनल इन्जिनियर सञ्जय पन्थीले जानकारी दिए । सोमबार परीक्षणका रूपमा सुरुङमार्ग एकतर्फी सञ्चालन गरिएको छ । मंगलबारदेखि भने दुईतर्फी रूपमा सवारी सञ्चालन गरिनेछ ।
सुरुङमार्ग बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ । यसअघि उद्घाटन भएदेखि आपतकालीन सवारीलाई मात्र सुरुङ प्रयोग गर्न दिइएको थियो । सुरुङमार्ग सुरक्षा युनिटका अनुसार, हाल निश्चित समयका लागि निजी सवारीलाई प्रवेश दिइएको हो ।
सोमबारदेखि गुर्जुधारास्थित फ्लाइओभरसमेत सञ्चालनमा ल्याइएको छ । सडक बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीका अनुसार असोज १ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीबाट टोल शुल्क उठाइनेछ । त्यसपछि क्रमशः ठूला तथा बढी भार भएका सवारीलाई पनि सुरुङमार्ग प्रयोग गर्न दिइनेछ । असोजदेखि भने सबै प्रकारका सवारी साधनलाई काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोलासम्म सुरुङमार्ग हुँदै आवतजावत गर्न दिने तयारी छ ।
नियमित सञ्चालनमा आएपछि सवारी साधनले शुल्क तिर्नुपर्ने छ । यसका लागि कार तथा भ्यानले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । मिनीबस र टिपरका लागि क्रमशः ११५ र ८० रुपैयाँ तथा बस र ट्रकका लागि २६० र २०० रुपैयाँ शुल्क तोकिएको छ । हेभी ट्रकले काठमाडौं भित्रिँदा ६ सय रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ ।
सुरुङभित्र सवारी सञ्चालनका लागि पनि विभिन्न सुरक्षा नियम लागू गरिएको छ । सवारीको गति प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी हुन नहुने, हेडलाइट अनिवार्य रूपमा बाल्नुपर्ने, सुरुङभित्र सवारी रोक्न तथा ओभरटेक गर्न नपाइने व्यवस्था गरिएको छ । पैदलयात्री, दुईपाङ्ग्रे सवारी तथा पेट्रोल, डिजेललगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ ।
करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते यसको शिलान्यास गरेका थिए । प्रारम्भिक सम्झौताअनुसार ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ महामारी, मुआब्जा विवादलगायत कारणले आयोजना निर्माणमा ढिलाइ भएको थियो ।
शिलान्यासको करिब चार वर्षपछि २०८० साउन २२ गते आपतकालीन सुरुङको ‘ब्रेक थ्रु’ गरिएको थियो । त्यसको १० महिनापछि मुख्य सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८१ असार ३ गते मुख्य सुरुङको ब्रेक थ्रु गरेका थिए । मुख्य सुरुङ २.६८ किलोमिटर र आपतकालीन सुरुङ २.५५७ किलोमिटर लामो छ ।
आयोजना निर्माणका लागि जापान सरकारको साढे १६ अर्ब र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भएको थियो । निर्माणका क्रममा लागत बढेपछि जापानले थप ५ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको थियो । जापानको हाज्मा आन्दो कर्पोरेसनले निर्माणको ठेक्का लिएको यो सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा–सिस्नेखोला सडकखण्डको यात्रा सहज, सुरक्षित र छोटो हुने अपेक्षा गरिएको छ ।


