नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अन्जन श्रेष्ठले मुलुकका व्यवसायीको मनोबल पछिल्लो ३६ वर्षयताकै कमजोर अवस्थामा पुगेको बताएका छन् । १८औं नाडा अटो शो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको र बजारमा शिथिलता देखिएको बताएका हुन् ।
आफ्नो ३६ वर्षको व्यावसायिक अनुभवमा अहिले व्यवसायीको मनोबल सबैभन्दा कमजोर अवस्थामा पुगेको उनको भनाइ छ । समग्र माग बढ्न नसक्दा उद्योग तथा व्यवसाय सञ्चालनमा कठिनाइ भइरहेको उनले बताए । ‘समग्र माग बढ्न सकेको छैन, उद्योग व्यवसाय सञ्चालनमा कठिन छ, व्यवसायी कठिन अवस्थामा छन् । व्यवसायको मनोबल इतिहासकै कमजोर अवस्थामा छ,’ उनले भने ।
नयाँ सरकारले बजेटमार्फत अर्थतन्त्र चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरे पनि त्यसअनुसार व्यवहारमा काम हुन नसकेको श्रेष्ठले गुनासो गरे । सरकारले आगामी ५ देखि ७ वर्षमा प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने, अर्थतन्त्रको आकार १ सय अर्ब डलर पुर्याउने र १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखे पनि त्यसअनुसारका रणनीति र कार्यक्रम अघि बढ्न नसकेको उनले बताए ।
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको भन्दै उनले सरकारलाई बजेटका घोषणा कार्यान्वयनमा तीव्रता दिन आग्रह गरे ।
अटोमोबाइल क्षेत्रमा आयात प्रतिस्थापनका लागि स्वदेशमै उद्योग स्थापना गर्नुपर्ने र त्यसका लागि राज्यको संरक्षण आवश्यक रहेको श्रेष्ठले बताए । कतिपय उद्योग स्थापना भए पनि सरकारले तिनका समस्या बुझ्न र समाधान गर्न पर्याप्त ध्यान नदिएको उनको भनाइ छ ।
उनका अनुसार गत आर्थिक वर्षमा नेपालमा १ खर्ब ६ अर्ब रुपैयाँ बराबरको अटोमोबाइल आयात भएको थियो । उक्त आयातबाट राज्यले ८१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको उनले बताए । कुल १२ खर्ब रुपैयाँ राजस्वमा अटोमोबाइल क्षेत्रले मात्रै ८१ अर्ब योगदान गर्ने भएकाले सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने उनको माग छ ।
सरकारले बन्द उद्योग सञ्चालनमा ल्याउने पहल गरिरहेको भए पनि सञ्चालनमा रहेका उद्योगको अवस्थाप्रति समेत उत्तिकै ध्यान दिनुपर्ने श्रेष्ठले बताए । ‘भुइँको टिप्दा पोल्टाको खस्ला भन्नेमा सचेत गराउन चाहन्छु,’ उनले भने ।

