Banijya News

विद्युतीय सवारीलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्छ : उपराष्ट्रपति यादव

1
1.0K Shares

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई वातावरणमैत्री र प्रविधिमैत्री दिशामा अघि बढाउन हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धनलाई राष्ट्रिय प्राथमिकता दिनुपर्ने बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाडा अटो शो २०२६’ को उद्घाटन गर्दै उपराष्ट्रपति यादवले विद्युतीय सवारी साधनको प्रयोग विस्तार गर्नु वर्तमान समयको अनिवार्य आवश्यकता भएको बताएका हुन् ।

उपराष्ट्रपति यादवले नेपालजस्तो विकासशील राष्ट्रका लागि अन्तर्राष्ट्रियस्तरको सवारी प्रदर्शनीको बहुआयामिक महत्व रहेको बताए । यस्ता प्रदर्शनीले उपभोक्तालाई बजारमा भित्रिएका नयाँ प्रविधि, इन्धन दक्षता, सुरक्षा सुविधा तथा वातावरणीय प्रभावबारे प्रत्यक्ष जानकारी लिन अवसर प्रदान गर्ने उनको भनाइ छ । यसबाट उपभोक्ताले आफ्नो आवश्यकता र क्षमताअनुसार सही निर्णय लिन सहयोग पुग्ने उनले बताए ।

अटोमोबाइल क्षेत्र नेपालको राजस्व संकलनको प्रमुख स्रोतका रूपमा रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौँ युवालाई रोजगारी र प्राविधिक सीप प्रदान गरिरहेको बताए । यसले युवालाई आत्मनिर्भर बन्ने आधारसमेत तयार पारिरहेको उनको भनाइ छ ।

उनले वातावरण संरक्षण र दिगो विकासका लागि विद्युतीय सवारीलाई केवल पेट्रोलियम सवारीको विकल्पका रूपमा नभई राष्ट्रिय प्राथमिकताका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । विद्युतीय सवारीको प्रयोग बढाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको भन्दै उनले नीतिगत स्थायित्वसँगै चार्जिङ स्टेसनलगायत आवश्यक पूर्वाधार विस्तार गर्नुपर्ने बताए ।

विद्युतीय सवारी साधनको व्यापक प्रयोगले पेट्रोलियम पदार्थको आयात घटाएर व्यापार घाटी कम गर्न प्रत्यक्ष सहयोग पुग्ने उनले बताए । नेपाल जलस्रोतमा धनी रहेको र जलविद्युत उत्पादनमा तीव्र गतिमा अघि बढिरहेको अवस्थामा स्वदेशमै उत्पादित विद्युतको उपयोग गरी सवारी सञ्चालन गर्नु दीर्घकालीन रूपमा लाभदायक हुने उनको भनाइ छ ।

‘हाम्रो देश जलस्रोतमा धनी छ र हामी जलविद्युत उत्पादनमा तीव्र गतिमा अघि बढिरहेका छौँ । यस्तो अवस्थामा पेट्रोलियम पदार्थको आयातमा बाहिरिने अर्बौँ रुपैयाँ जोगाउन विद्युतीय सवारी साधनको प्रयोग बढाउनु नै बुद्धिमानी र दिगो उपाय हो,’ उपराष्ट्रपति यादवले भने ।

उनले विद्युतीय सवारीको प्रयोगले कार्बन उत्सर्जन न्यून गर्नुका साथै सहरी क्षेत्रको वायु प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनका चुनौती सामना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

अटोमोबाइल क्षेत्रबाट प्राप्त हुने लाभ समाजका सबै वर्ग र समुदायसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले नयाँ सोच, प्रविधि र स्टार्टअपलाई प्रोत्साहन गर्नुपर्ने बताए । नाडा अटो शोले मुलुकमा उद्यमशीलताको वातावरण निर्माण गर्न तथा नयाँ प्रविधि र व्यवसायलाई प्रोत्साहन गर्न योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे ।

उपराष्ट्रपति यादवले स्वदेशी कच्चा पदार्थमा आधारित अटोपाट्र्स उत्पादनलाई प्रवद्र्धन गर्न व्यवसायीलाई आग्रह गर्दै यसबाट आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने बताए ।

नाडाको स्वर्ण जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै उनले ‘नाडा अटो शो २०२६’ ले नेपालको अटोमोबाइल क्षेत्रलाई आधुनिक प्रविधि र हरित ऊर्जातर्फ उन्मुख गराउन सशक्त उत्प्रेरकको भूमिका खेल्ने विश्वास व्यक्त गरे । मुलुकको समृद्धिका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजबीचको एकीकृत प्रयास अपरिहार्य रहेको उनको भनाइ थियो ।

1

Scroll to Top