Banijya News

नाडा अटो शोमा सस्तो कर्जाको प्रतिस्पर्धा, कुन बैंकको कति ?

1
1.0K Shares

नाडा अटो शो, २०२६ लाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाबीच सस्तो र प्रतिस्पर्धी ब्याजदरमा अटो कर्जा उपलब्ध गराउने होड चलेको छ । सवारीसाधन खरिद गर्ने ग्राहक आकर्षित गर्न विभिन्न बैंक तथा वित्तीय संस्थाले ५.०२ प्रतिशतदेखि ब्याजदरमा अटो कर्जा योजना सार्वजनिक गरेका छन् ।

उपलब्ध योजनामध्ये राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा कम ५.०२ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराउने भएको छ । बैंकले अधिकतम सात वर्षसम्मका लागि कर्जा दिने जनाएको छ । १ करोड रुपैयाँसम्मको कर्जामा सेवा शुल्क ०.५० प्रतिशत कायम गरिएको छ ।

कुमारी बैंकले ५.२१ प्रतिशत ब्याजदरमा अधिकतम १० वर्षसम्मका लागि अटो कर्जा उपलब्ध गराएको छ । बैंकले ब्याजदर अझै घट्न सक्ने जनाएको छ । कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ । व्यावसायिक सवारी खरिदका लागि भने आधार दरमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जा उपलब्ध गराइनेछ ।

नेपाल बैंकले आधार दरमा ०.४९ प्रतिशत प्रिमियम थप गरी अटो कर्जा उपलब्ध गराउने योजना ल्याएको छ । बैंकले प्रशासनिक सेवा शुल्क ०.५० प्रतिशत तोकेको छ । अटो कर्जा लिने ग्राहकलाई अधिकतम ३ लाख रुपैयाँ सीमासहित आजीवन निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने सुविधा पनि बैंकले ल्याएको छ । यो योजना विद्युतीयसहित नयाँ निजी तथा व्यावसायिक सवारी खरिदमा लागू हुने बैंकले जनाएको छ ।

यसैगरी, कृषि विकास बैंकले निजी सवारी खरिदका लागि ५.६६ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराएको छ । व्यावसायिक सवारी तथा हायर पर्चेजतर्फ सात वर्षसम्मका लागि ६.३३ प्रतिशत ब्याजदर कायम गरिएको छ । यसमा सेवा शुल्क ०.५० प्रतिशत रहेको छ ।

नबिल बैंकले ५.१७ प्रतिशत ब्याजदरमा अधिकतम सात वर्षसम्मका लागि अटो कर्जा उपलब्ध गराएको छ । बैंकको सेवा शुल्क ०.५० प्रतिशत रहेको छ । व्यावसायिक सवारीका लागि भने ब्याजदर ६.९२ प्रतिशत कायम गरिएको उपलब्ध विवरणमा उल्लेख छ ।

त्यस्तै, प्रभु बैंकले करिब ५.४४ प्रतिशत ब्याजदरमा सात वर्षसम्मका लागि अटो लोन उपलब्ध गराएको छ । निजी तथा व्यावसायिक सवारीका लागि समान ब्याजदर तोकिएको बैंकको योजनामा सेवा शुल्क ०.५० प्रतिशत रहेको छ ।

गोर्खाज फाइनान्सले पनि सात वर्षसम्मका लागि ६.७१ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराएको छ । फाइनान्सको सेवा शुल्क भने अन्य केही बैंकको तुलनामा बढी अर्थात् १ प्रतिशत रहेको छ ।

यसैबीच, नाडा अटो शो २०२६ मा महालक्ष्मी विकास बैंकले पनि सहभागिता जनाएको छ । बैंकले अटो शोमा आउने ग्राहकलाई सवारी खरिदका लागि आवश्यक कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा समन्वय गर्ने जनाएको छ ।

महालक्ष्मी विकास बैंकका अनुसार विकास बैंकहरूमध्ये प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउँदै आएको बैंकले अटो शोको अवसरमा आकर्षक ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ । भदौ महिनाका लागि बैंकको आधार दर ५.६४ प्रतिशत रहेको र यसको प्रत्यक्ष लाभ सवारी कर्जा लिने ग्राहकले लिन सक्ने बैंकले जनाएको छ ।

अटो शोका क्रममा बैंक तथा वित्तीय संस्थाले ब्याजदर, सेवा शुल्क, कर्जा अवधि तथा थप सुविधामार्फत ग्राहक तान्ने रणनीति अपनाएका छन् । यसले सवारी खरिदकर्तालाई विभिन्न वित्तीय संस्थाका कर्जा योजनाबीच तुलना गरी आफूलाई उपयुक्त विकल्प छनोट गर्ने अवसरसमेत प्रदान गरेको छ ।

1

Scroll to Top