Banijya News

रसुवाको बाढीले छ सयभन्दा बढी नयाँ गाडी बगायो, अटो बजारमा आपूर्ति संकट हुन सक्ने

1
1.0K Shares

रसुवाको केरुङ नाका नजिक भन्सार क्षेत्रमा आएको भीषण बाढीले ६ सयभन्दा बढी नयाँ सवारीसाधन बगाएको छ । भन्सार जाँचपास पूरा गरी काठमाडौं ल्याउने तयारीमा रहेका गाडी बाढीले बगाएपछि अटो व्यवसायीहरूले अर्बौं रुपैयाँको क्षति बेहोर्नुपर्ने अवस्था आएको छ ।

व्यवसायीहरूका अनुसार बाढीमा बगेका अधिकांश सवारीसाधन राजधानीमा जारी नाडा अटो शो र हालै सम्पन्न नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गरी आयात गरिएका थिए । बाढीबाट विशेषगरी विद्युतीय सवारीसाधन (ईभी) मा ठूलो क्षति पुगेको बताइएको छ ।

बाढीले गाडी बगाएपछि भृकुटीमण्डपमा उत्साहका साथ सञ्चालन भइरहेको नाडा अटो शोमा समेत यसको प्रत्यक्ष असर परेको छ । प्रदर्शनीमा गाडी मन पराएर बुकिङ गरेका ग्राहकलाई समयमै सवारीसाधन उपलब्ध गराउनुपर्ने दबाबमा रहेका व्यवसायीहरू अहिले अन्योलमा परेका छन् ।

एक अटो व्यवसायीका अनुसार, अटो शोमा बुकिङ लिने क्रम चलिरहे पनि स्टकका लागि आउन लागेका गाडी बाढीले बगाएपछि ग्राहकलाई समयमै डेलिभरी दिने विषय चुनौतीपूर्ण बनेको छ । उनका अनुसार नयाँ गाडी मगाउन समय लाग्ने भएकाले बुकिङ गरेका ग्राहकलाई समेत प्रभावित पार्न सक्ने अवस्था छ ।

व्यवसायीहरूले बाढीले बिवाइडी, एमजी, ओमोडा एन्ड जेको र वुलिङलगायत ब्रान्डका नयाँ मोडलका गाडीहरूमा क्षति पुर्‍याएको पुष्टि गरेका छन् । प्रारम्भिक अनुमानअनुसार बिवाइडी र एमजीका मात्रै ३ सय ५० भन्दा बढी गाडी बाढीको चपेटामा परेका छन् ।

बाढीले सवारीसाधनसँगै केरुङ नाका जोड्ने सडक, पुल तथा अन्य पूर्वाधारमा समेत क्षति पुर्‍याएको छ । सडक सञ्जाल अवरुद्ध भएपछि भन्सार क्षेत्रमा सुरक्षित रहेका गाडीसमेत तत्काल काठमाडौं ल्याउन नसक्ने अवस्था रहेको व्यवसायीहरूको भनाइ छ । यसले अटो बजारमा नयाँ सवारीसाधनको आपूर्ति प्रभावित हुने र ग्राहकले बुकिङ गरेको गाडी पाउन लामो समय कुर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने देखिएको छ ।

लामो समयदेखि आर्थिक सुस्ततामा रहेको अटो बजारलाई नाडा अटो शोमार्फत चलायमान बनाउने अपेक्षा गरेका व्यवसायीहरूका लागि बाढीको विपत्ति थप चुनौती बनेको छ । बुकिङ गरेका गाडी समयमै डेलिभरी गर्न नसक्दा ग्राहकको विश्वासमा असर पर्न सक्ने चिन्ता व्यवसायीहरूमा छ ।

भन्सार विभाग तथा सम्बन्धित निकायले बाढीबाट भएको क्षतिको वास्तविक विवरण संकलन गरिरहेका छन्। बगेका सवारीसाधनको बीमा गरिएको भए पनि दाबी प्रक्रिया, क्षतिको मूल्यांकन र नयाँ गाडी आयात गर्न लाग्ने समयका कारण अटो बजारमा यसको असर तत्कालै समाधान नहुने व्यवसायीहरूको आँकलन छ ।

1

Scroll to Top