नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी साधन (ईभी) को आकर्षण तीव्र रूपमा बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना साउन र भदौमा नेपाल भित्रिएका कुल कार, जीप तथा भ्यानमध्ये करिब ८३ प्रतिशत विद्युतीय सवारी रहेका छन् ।
भन्सार विभागको सञ्चित वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार, साउन र भदौमा कुल ८ हजार २ वटा चारपांग्रे सवारी साधन आयात भएका छन् । तीमध्ये ६ हजार ६४८ वटा पूर्ण विद्युतीय सवारी साधन रहेका छन् । यसले पछिल्लो समय नेपाली बजारमा पेट्रोल तथा डिजेलबाट चल्ने परम्परागत सवारीको तुलनामा विद्युतीय गाडीको माग र आयात उल्लेख्य रूपमा बढेको देखाउँछ ।
भन्सार वर्गीकरणअनुसार उक्त अवधिमा विद्युतीय सवारी तीनवटा मुख्य शीर्षकअन्तर्गत आयात भएका छन् । यी तीन शीर्षकअन्तर्गत ६ हजार ६४८ वटा ईभी आयात भएका छन् । जसको कुल आयात मूल्य ७ अर्ब ३० करोड ७५ लाख रुपैयाँ रहेको छ । यसमध्ये ‘अन्य विद्युतीय सवारी’को आयात मूल्य मात्रै करिब ६ अर्ब ७० करोड रुपैयाँ रहेको छ । विद्युतीय सवारीको आयातबाट राज्यले भन्सार तथा करबापत ४५ करोड २ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
ईभीको आयात बढिरहँदा पेट्रोल र डिजेलमा आधारित सवारीको आयात भने तुलनात्मक रूपमा न्यून देखिएको छ । दुई महिनामा १ हजार २१६ वटा पेट्रोल कार, जीप तथा भ्यान आयात भएका छन् । तिनको कुल आयात मूल्य ९८ करोड ६२ लाख रुपैयाँ रहेको छ भने सरकारले १९ करोड ५६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यस्तै, डिजेलबाट चल्ने १०१ वटा सवारी साधन आयात भएका छन् । ती सवारीको कुल आयात मूल्य २८ करोड ६७ लाख रुपैयाँ रहेको छ । डिजेल सवारीबाट राज्यले ९ करोड ७० लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
पेट्रोल र विद्युत् दुवै प्रविधिमा आधारित हाइब्रिड सवारीको आयात भने निकै कम छ । साउन र भदौमा प्लग–इन तथा गैर–प्लग–इन गरी ३७ वटा हाइब्रिड गाडी नेपाल भित्रिएका छन् । ती सवारीको आयात मूल्य २० करोड ७९ लाख रुपैयाँ रहेको छ भने राजस्व योगदान ४ करोड ९४ लाख रुपैयाँ छ ।
समग्रमा पहिलो दुई महिनामा नेपालले ८ हजार २ वटा कार, जीप तथा भ्यान आयात गर्दा ८ अर्ब ७८ करोड ७९ लाख रुपैयाँ बराबरको रकम बाहिरिएको छ । यी सवारीको आयातबाट राज्यकोषमा कुल ७९ करोड २२ लाख रुपैयाँ भन्सार तथा कर राजस्व दाखिला भएको छ ।
आयातको संरचना हेर्दा संख्यात्मक रूपमा मात्रै नभई मूल्यका आधारमा पनि विद्युतीय सवारीको हिस्सा उल्लेख्य देखिएको छ । पछिल्लो तथ्यांकले नेपाली अटो बजारमा विद्युतीय सवारीको उपस्थिति विस्तार हुँदै गएको र पेट्रोल तथा डिजेलमा आधारित सवारीसँगको प्रतिस्पर्धामा ईभीको हिस्सा बढिरहेको संकेत गरेको छ ।

